काठमाडौं। प्रहरीले गत चैत ४ मा काठमाडौंको टोखामा ट्रकसहित बरामद २५ करोड विदेशी मुद्राका मालिक नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटी बुझाएर छुटेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का पौडेल गत असार ३२ मा अदालतमा हाजिर भएका थिए। अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले पौडेललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।
गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। उक्त रकम अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको थियो।
राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो। रकमको मालिक पौडेल भएको निष्कर्ष निकालेको थियो।
उनी फरार रहेकै अवस्थामा विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। कुशाङलाई वैशाख ३ मा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुना पठाएको थियो।
गत ४ चैत राती ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लग्दै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो।