कञ्चनपुर। दुग्ध विकास संस्थान (डीडीसी)ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन।
कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ। संस्थानले गत मंसिरदेखि संकलन भएको दूधको रकम भुक्तानी गर्न नसकेको हो।
संस्थानले समयमा भुक्तानी गर्न नसक्दा मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिए। ‘हामीले डिडिसीबाट मंसिरयताको ६० लाख रकम पाउनुपर्ने बाँकी छ’, उनले भने, ‘डीडीसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौं।’
उनका अनुसार साथी सहकारीले महिनाको पाँच हजार लिटर दूध दुग्ध विकास संस्थानलाई दिँदै आएको छ। संस्थानले दूधको पैसा भुक्तानी नगर्दा दूध उत्पादक किसानलाई दूधको पैसा दिन आफूहरुलाई समस्या भएको उनको भनाइ छ।
त्यसैगरी, यहाँको साना किसान सहकारीले पनि संस्थानबाट दूधको भुक्तानी पाएको छैन। सहकारीका अध्यक्ष खगेश्वर पाण्डेलले संस्थानबाट मंसिरयता २९ लाख ५० हजार भुक्तानी पाउनुपर्ने रकम बाँकी रहेको बताए।
डीडीसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको ६ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए।
‘कात्तिकदेखि चैतसम्म बढी दूध संकलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो’, उनले भने, ‘बाँकी ६ करोड छिट्टै भुक्तानी हुन्छ। तीन करोड ३७ लाख गत महिनामा भुक्तानी गरिसकेका छौं।’
उनले कञ्चनपुरबाट महिनामा दुई हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन हुने गरेको बताए।–रासस