काठमाडौं। सन् २०२५ को दोस्रो त्रैमासिकमा विश्वभर पर्सनल कम्प्युटर (पीसी) ढुवानी ८.४ प्रतिशतले बढेको प्रविधि अनुसन्धान संस्था काउन्टरपोइन्ट रिसर्चले हालै प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ। यो सन् २०२२ यताकै उल्लेखनीय वृद्धिदर हो।
कम्प्युटर बजार वृद्धिको प्रमुख कारणमा विन्डोज १० को अपडेटिङ सेवावधि सकिन लाग्नु, कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित कम्प्युटरको माग विस्तार हुनु र व्यावसायिक खरिदमा सुधार हुनुलाई मानिएको छ।
विन्डोज १० को आधिकारिक अपडेट सेवा सन् २०२५ को अक्टोबरमा अन्त्य हुने घोषणा भएसँगै व्यावसायिक सेग्मेन्टमा ठूलो मात्रामा उपकरण प्रतिस्थापन भएका छन्। विश्वभरका कार्यालय, संघ–संस्था तथा व्यक्तिगत प्रयोगकर्ता नयाँ प्रणाली (जस्तै विन्डोज ११ वा एआई आधारित नयाँ प्रणाली)मा अपग्रेड गर्न थालेका छन्। यसले ल्यापटप तथा डेस्कटप खरिदमा उल्लेखनीय वृद्धि ल्याएको छ।

काउन्टरपोइन्ट रिसर्चका विश्लेषक मिन्सु काङका अनुसार विन्डोज १० को प्रतिस्थापन हालको पीसी बजारको सबैभन्दा निर्णायक ट्रिगर बनेको छ। ठूला कर्पोरेट ग्राहक अहिले नै उपकरण अपग्रेड गर्न हतारिएका छन्, जसले वृद्धिमा योगदान पुर्याएको छ।
बजार विस्तारमा आक्रमक लेनोभो
लेनोभोले दोस्रो त्रैमासिकमा पनि आफ्नो विश्वव्यापी अग्रता कायम राख्न सफल भएको छ। उसले विश्वभर भएका पीसी ढुवानीमध्ये करिब २५ प्रतिशत हिस्सा ओगटेको छ। विन्डोज १० को विस्थापन, भन्सार मूल्य समायोजन र एआई आधारित मोडेलहरूले लेनोभोको वृद्धिमा सघाएको हो।
यो अवधिमा एचपी र डेल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यी ब्रान्डले व्यावसायिक बजारमा माग स्थिर कायम राखे पनि साना ब्रान्डसँगको मूल्य प्रतिस्पर्धाले उनीहरूलाई दबाबमा राखेको देखिएको छ।
एप्पल र एसुसको प्रदर्शन सशक्त
एचपी र डेलको बजार बढ्न नसकेका बेला एप्पलले नयाँ एम ४ सिरिज म्याकबुक ल्याउने निर्णयले आफ्नो प्रोडक्ट बिक्रीमा वृद्धि गर्न सफल भएको छ। यद्यपि, अघिल्ला त्रैमासिकसँग तुलना गर्दा यस त्रैमासिकमा वृद्धिदर केही सुस्त देखिएको छ।
उता, एसुसले पनि १० प्रतिशतभन्दा बढी वृद्धिदर हासिल गर्दै बजारमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। कम्पनी गेमिङ र हाई पर्फर्मेन्स ल्यापटपमा केन्द्रित रणनीति बनाउँदा लाभ पाएको हो।
२०२६ मा एआई कम्प्युटरको वर्चस्व हुने अनुमान
हाल एआईमा आधारित ल्यापटप बजारमा प्रवेश गरिरहेका छन्। यिनले कार्यक्षमता, सुरक्षा, ऊर्जा खपत, र प्रयोगकर्ता अनुभवमा उल्लेखनीय सुधार ल्याएका छन्। विशेषतः व्यावसायिक प्रयोगकर्ताले यी एआई कम्प्युटरलाई प्राथमिकता दिन थालेका छन्।
रिसर्चका अनुसार सन् २०२६ सम्म विश्वभरि पठाइने ल्यापटपमध्ये आधाभन्दा बढी एआई प्रविधिमा आधारित हुनेछन्। यसका लागि अहिले नै कम्पनीले प्रतिस्पर्धी मूल्य, उच्च प्रदर्शन क्षमता र एआई इकोसिस्टम विकासमा लगानी गरिरहेका छन्। यसले कम्प्युटर उद्योगमा संरचनात्मक परिवर्तन ल्याउनेछ।

कम्पनीले उत्पादन श्रृङ्खला परिवर्तन गर्नुका साथै नयाँ हार्डवेयर र सफ्टवेयर विकासमा पनि लगानी बढाउँदैछन्।दिगो आर्थिक अनिश्चितता, भन्सार नीति र एआई प्रविधिमा प्रतिस्पर्धाले विश्वव्यापी पीसी उद्योगलाई चुनौती र अवसर दुवै दिइरहेका छन्।
काउन्टरपोइन्ट रिसर्चका एसोसिएट डाइरेक्टर डेभिड नराञ्जोका अनुसार एआई पीसीको माग र विकासले उद्योगमा सकारात्मक ऊर्जा भरे पनि भन्सार नीति र मूल्य अस्थिरताले २०२५ को बाँकी अवधिमा बिक्री प्रभावित हुन सक्छ।
सन् २०२५ को दोस्रो त्रैमासिकमा देखिएको वृद्धि उत्साहजनक भए पनि भविष्य चुनौतीपूर्ण देखिन्छ। हाललाई विन्डोज १० को प्रतिस्थापन र प्रारम्भिक एआई कम्प्युटरको अपनत्वले बजारलाई टेवा दिएको छ।
रिपोर्टअनुसार विश्वव्यापी पीसी उत्पादन अझै पनि चीनमै केन्द्रित रहेको छ। यसले उद्योगलाई अमेरिकी भन्सार नीतिबाट उत्पन्न हुने जोखिमसँग जुझ्न बाध्य बनाएको छ।
अमेरिकी सरकारले ल्यापटपमा अस्थायी रूपमा भन्सार छुट दिए पनि भविष्यमा सेमिकन्डक्टर र प्राविधिक हार्डवेयरजस्ता वस्तुमा नयाँ दर लागू गर्ने संकेत दिएको छ। यसले उद्योगका लागि मूल्य वृद्धि, ढुवानीमा ढिलाइ र बजार अनिश्चितताको जोखिम बढाएको छ।
यस्तै, भन्सार र व्यापारसम्बन्धी जोखिम न्यूनीकरण गर्न कम्प्युटर ब्रान्डका कम्पनीले चीनबाहिरका विकल्प खोज्न थालेका छन्। भियतनाम, भारत र मेक्सिको अहिले वैकल्पिक उत्पादन केन्द्रका रूपमा अगाडि आइरहेका छन्।
तर, यी देशमा पूर्वाधारको कमी, सीपयुक्त जनशक्ति अभाव र कर संरचनाको जटिलताले तत्कालै समाधान पाउन गाह्रो देखिन्छ। तर दीर्घकालीन रूपमा उत्पादन विविधीकरण र उद्योगको साझा रणनीति बन्न थालेको बताइन्छ। तर, यसका लागि ठूलो लगानी, सीप विकास र समय लाग्ने भएकाले कम्पनीले दीर्घकालीन योजनासहित अगाडि बढिरहेका छन्।