काठमाडाैं। कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाखको केरा बिक्री गरे।
‘समयमै उत्पादन हुँदा ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन,’ उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा १५ लाखसम्म कमाएको छु।’
धामीले १९ बिघामा केराखेती गरेका छन्। यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन्।
१४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन्। यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ।
‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’, उनले भने, ‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ।’
केराखेतीमा राम्रो आम्दानी देखेपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ।
‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन लिजमा लिएर खेती गरिरहेको छु’, उनले भने, ‘मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ। लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ।’
किसानले असारमा केरा रोप्ने गर्दछन्। वर्खाको सिजनमा केराको अभाव हुन्छ। केरा किसान धामी मूल्य राम्रो पाउनका लागि किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउँछन्।