पर्सा। गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट भएको छ।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले गत आवमा भएको कार्य सम्पादन सम्झौताबमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौताबमोजिम सर्वोत्कृष्ट जिल्ला भएको जानकारी दिए।
'मधेस प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुबीच भर्चुअल माध्यमबाट गत आवको वार्षिक कार्यसम्पादन सम्झौता अनुसार कार्य प्रगति विवरणको समीक्षा गरिएको थियो,' उनले भने, 'सो समीक्षामा कार्य सम्पादन सम्झौताबमोजिम पर्सा जिल्ला सर्वोकृष्ट भएको छ।'
मधेस प्रदेश प्रहरी प्रमुख चतुर्वेदीले अन्य मातहत कार्यालयलाई समेत वार्षिक कार्य सम्पादन सम्झौताबमोजिम आफ्नो लक्ष्यअनुसार पूरा गर्नुपर्ने कार्यमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए।
४० बुँदामा केन्द्रित कार्य सम्पादनलाई आधार बनाएर गरिएको मूल्यांकनमा पर्सा प्रहरी ९०.१९ प्रतिशत अंकको साथमा सर्वोत्कृष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा गत आवमा करिब ६० करोड मूल्यका भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरिएको जनाइएको छ।
मिश्रले संगठनको टिमवर्कका कारण यो सफलता हात पार्न सकेको बताए। प्रमुख मिश्रले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै भन्सार छली तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी र मानव बेचबिखन ओसारपसार जस्ता अभियान सञ्चालन गर्दै आइरहेको जानकारी दिए।
'गत आवभरिमा विभिन्न अदालतबाट भएका फैसलाको फरार भएका एक हजार ५११ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयन गरिएको छ,' उनले भने, 'पक्राउ परेका फरार प्रतिवादीको ७३ वर्ष दुई महिना कैद तथा तीन करोड ५५ लाख १२ हजार ९५६ जरिवाना समेत असुलउपर गरेका छौँ।'