तनहुँ। म्याग्दे गाउँपालिकाले अर्गानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसे पनि सहर गाउँकै खाने रहर’ नीति ल्याएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसे पनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अर्गानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ।
नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता दिइने नीति लिइएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। उनले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे।
स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैंसी खरिद गरी दूध र दूधजन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैंसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले जनाए।
अनुदानमा ४० लाख
गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि ४० लाख बजेट छुट्याएको छ। उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी संक्रमितलाई मासिक १ हजार भत्ता उपलब्ध गराइनेछ।
त्यस्तै, गम्भीर मनोसामाजिक पीडितलाई मासिक एक हजार भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तरजातीय दाइजोमुक्त जोडीलाई ५० हजार अनुदान दिइने बताए।
गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई पाँच लाख प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत् महसुलमा तीन हजार छुट व्यवस्था गरिएको छ।–रासस