काठमाडौं। नेपालमा आज पहिलो पटक 'प्रथम राष्ट्रिय कोदो दिवस २०८२' मनाइँदैछ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो। धान, मकै र गहुँपछि नेपालको चौथो प्रमुख खाद्यान्न बालीका रूपमा रहेको कोदोको महत्वलाई उजागर गर्न यो दिवस मनाउन लागिएको हो।
कोदोको महत्व र विशेषता
कोदो विशेषगरी पहाडी क्षेत्रमा मकैपछिको महत्वपूर्ण बाली मानिन्छ। यसको विशेषता भनेकै कम सिँचाइ, कम मलिलो र पाखोबारीमा पनि राम्रो उत्पादन दिन सक्नु हो। आकाशे पानीको भरमा पनि यसको खेती गर्न सकिन्छ, जसले नेपालको अधिकांश खेतीयोग्य जमिनलाई उपयुक्त बनाउँछ।
कृषि विभागका महानिर्देशक कुमार सन्जेलका अनुसार जलवायु परिवर्तनको दृष्टिकोणले पनि कोदो अन्य बालीभन्दा बढी उपयुक्त छ। कोदोको खेतीमा कम रासायनिक मल र विषादी प्रयोग हुने भएकाले यसले हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्छ।
उत्पादन र आयात/निर्यातको अवस्था
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार, नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदो खेती गरिन्छ र यसबाट ३ लाख ७३२ टन कोदो उत्पादन भएको छ। तर, प्रतिहेक्टर उत्पादन १.३३ मेट्रिक टन मात्रै रहेको छ, जुन निकै कम हो। सन्जेलका अनुसार उन्नत प्रविधि, सिँचाइ र मलखादको उचित व्यवस्थापनले यसको उत्पादन र उत्पादकत्व बढाउन सकिने सम्भावना छ।
संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाएपछि नेपालमा पनि यसको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू भइरहेका छन्। तर, भन्सार विभागको तथ्यांकले भने फरक चित्र देखाउँछ। गत आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख ७ हजार रुपैयाँ बराबरको ७० टन मात्र निर्यात भएको छ। यसले कोदो उत्पादन बढाउनुपर्ने आवश्यकता स्पष्ट देखाउँछ।
पोषण र स्वास्थ्यका लागि कोदो
कोदो प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका पोषक तत्वहरूको राम्रो स्रोत मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नसर्ने रोगहरूको वृद्धि जनस्वास्थ्यको ठूलो चुनौतीका रूपमा देखिएको छ। यस समस्या समाधानका लागि कोदोको उत्पादन र उपभोग बढाउनु महत्वपूर्ण योगदान हुन सक्ने विज्ञहरू बताउँछन्।
परिकार विविधीकरण र बजारीकरणको आवश्यकता
परम्परागत खेती प्रणाली र परिकारको विविधीकरणको ज्ञानको अभावले कोदोको उत्पादन र उपभोग न्यून छ। हाल कोदोबाट रोटी, ढिँडो र सातुजस्ता परम्परागत परिकार मात्र बन्ने गरेका छन्। कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार कोदोबाट केक, ब्रेड, चाउमिन, कुकिज, बिस्कुट, पिज्जा, डोनटजस्ता आधुनिक परिकार बनाउन सकिन्छ।
परिकारमा विविधिकरण गर्न सके वर्तमान पुस्तामा कोदोको उपभोग बढाउन सकिने र यसले बजारीकरणको वातावरण बन्ने श्रेष्ठ बताउँछन्। निजी उद्यमी, होटल व्यवसायी र होमस्टे सञ्चालकमार्फत आन्तरिक र बाह्य पर्यटकसम्म पनि यसको बजार विस्तार गर्न सकिने उनको भनाइ छ। साथै, सरकारी कार्यालय र सार्वजनिक कार्यक्रमहरूमा पनि कोदोका परिकार प्रयोग गरिनुपर्ने उनले सुझाए।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी ८ वटा उन्नत जातहरू उन्मोचन तथा दर्ता गरिसकेको छ। नेपाल सरकारले प्रादेशिक सरकार र स्थानीय तहसँगको सहकार्यमा विगत पाँच वर्षदेखि कोदोजन्य बालीलाई केन्द्रमा राखी संघीय सशर्त अनुदान उपलब्ध गराउँदै आएको छ। प्रादेशिक र स्थानीय तहले पनि स्थान विशेष कोदोजन्य रैथाने बाली उत्पादन तथा प्रवद्र्धनमा सहयोग पुर्याएका छन्।
कोदोको महत्वलाई बुझेर यसको उत्पादन बढाउन र परिकारमा विविधीकरण ल्याउन हामी सबैले मिलेर काम गर्नु आवश्यक छ।