काठमाडौं। नेपाल बिमा प्राधिकरणले गत असार २३ को रसुवा बाढीपहिरोपछिको क्षतिबारे बिमा दाबीको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ।
प्राधिकरणको साउन १५ सम्मको विवरणअनुसार ११ वटा निर्जीवन बीमकबाट कुल ७३ वटा बिमा दाबीमा ८४ करोड ८४ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति माग भएको हो।
प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी परेको छ, जुन दुईटा बिमा दाबीको रकम हो।
शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख र नेपाल इन्स्योरेन्सले १ करोड ६३ लाख ५० हजार बराबरको क्षतिपूति दाबी परेको जनाएका छन्।
सम्पत्ति बिमामा बीमकले ६ वटा दाबीको ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
सामुद्रिक बिमातर्फ १६ करोड २५ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिम ५ करोड ४५ लाख, मोटर बिमा (सार्वजनिक)तर्फ २ करोड ९८ लाख र मोटर बिमा (निजी)तर्फ २ करोड १४ लाख रुपैयाँको बिमा दाबी परेको देखिएको छ।
तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढी नेपालको भोटेकोसी नदीमा मिसिनासाथ नेपाल–चीन सीमा क्षेत्र रसुवागढी–केरुङ नाका ध्वस्त बनाएको छ भने मितेरी पुल बगाएको थियो। रसुवा बाढीमा ६ चिनियाँ नागरिकसहित कम्तीमा १९ जना सम्पर्कविहीन भएका थिए। ९ जनाको शव फेला परेको छ।
रसुवागढीसहित चार जलविद्युत् आयोजनामा करोडौंको क्षति पुगेको छ। यस्तै, सुक्खा बन्दरगाहमा रहेका सामानसहितका २४ कन्टेनर, ६ वटा ट्रक र चार दर्जन हाहाहारी ईभी गाडी बगेको विवरण प्रशासनले सार्वजनिक गरेको छ।
