काठमाडौं। मधेस प्रदेशमा आवश्यक वर्षा नहुँदा ५७ प्रतिशत मात्रै रोपाइँ सकिएको छ। यता, बाँकी ६ प्रदेशको रोपाइँ अन्तिम चरणमा पुगेको छ।
यो वर्ष देशभर करिब ८४ प्रतिशत रोपाइँ हुँदा मधेस प्रदेश प्रदेशमा ५७ प्रतिशत रोपाइँ मात्रै हुन सकेको छ। कृषि विभागका अनुसार कोशी प्रदेशमा ८९ प्रतिशत, बागमतीमा ९३ प्रतिशत, गण्डकीमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
यस्तै, लुम्बिनीमा ९६, कर्णालीान ९६ र सुदूरपश्चिममा ९९ प्रतिशत धान रोपाइँ भएको छ। यो भनेको रोपाइँको अन्तिम चरण हो। यो वर्ष १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको ११ लाख ५६ हजार ६८७ हेक्टर अर्थत ८३.८८ प्रतिशत रोपाइँ भएको हो। गत वर्ष यो समयावधिमा ९६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
साउन १७ गतेदेखि मधेसमा केही वर्षा भएको छ। यसले किसानलाई आशा रहे पनि प्रयाप्त वर्षा भने हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यता, कृषि अनुसन्धान परिषद् (नार्क)ले यस वर्ष अनिश्चित वर्षा र सुक्खाको समस्या समाधानका लागि केही धानको जात सिफारिस गरेको छ।
नार्कले छिटो पाक्ने धानको प्रजाति रोप्न आग्रह गरेको छ। यसका लागि सबित्री, हर्दिनाथ वा सुगन्धा जातका धान सिफारिस गरेको छ। ‘यी प्रजातिहरू कम समयमै पाक्ने भएकाले कृषिकहरू अघिल्लो वर्षभन्दा ढिलो रोपे पनि उत्पादन लिन सक्छन्,’ नार्कले भनेको छ।
यस्तै, सुख्खा प्रभावित क्षेत्रका लागि नार्कले सुख्खा सहनशील धानका प्रजाति सिफारिस गरेको छ। यसका लागि सुख्खा धान १ र सुख्खा धान ३ रोल्पा सल्लाह दिएको छ। यी प्रजातीका धानले पानीको कमीमा पनि राम्रो उत्पादन दिन सक्ने नार्कले उल्लेख गरेको छ।