काठमाडौं। माछापुच्छ्रे बैंकले नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले एक वर्षे अवधिमा खुद नाफामा ९२.४५ प्रतिशतले वृद्धि गरेको हो।
बैंक सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद नाफामा भएको ठूलो छलाङको मुख्य कारण खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्ज रिभर्स (प्रोभिजन फिर्ता) हुँदा भएको देखिएको छ। बैंकको एनपीएल ३.८३ प्रतिशत छ, अघिल्लो वर्षको सोही अवधिमा एनपीएल ३.८६ प्रतिशत थियो।
अघिल्लो वर्ष बैंकले प्रोभिजनमा १ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ गरेकामा गत वर्ष यस्तो प्रोभिजन ३५ करोड ३७ लाखमा सीमित भएको छ। बैंकको कर्जामा सुधार भएसँगै प्रोभिजन राइट ब्याक भएको निष्कृय कर्जा (एनपीएल) घटेको तथ्यांकले देखाउँछ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले १ खर्ब ४१ अर्ब ६३ करोड निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
साथै, खुद फी तथा कमिसन आम्दानीमा पनि १८.१६ प्रतिशतको वृद्धि देखिएको छ, जसले बैंकको कोर व्यवसाय सञ्चालनमा सुधार आएको पुष्टि गर्छ। बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड पुगेको छ। सञ्चालन मुनाफा ९९.९१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ७ करोड २९ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ३५ करोड ९८ लाख रुपैयाँ नकारात्मक थियो।
नाफामा भएको यो वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि दोब्बरभन्दा बढीले बढेको छ। गत आर्थिक वर्ष अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ।
बैंकका अन्य वित्तीय सूचक पनि सकारात्मक देखिएका छन्। असारसम्म बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ८० पैसा, सिडी र रेसियो ८०.६२ प्रतिशत, बेसरेट ६.३० प्रतिशत र स्प्रेडदर ३.८७ प्रतिशत रहेको छ।