काठमाडाैं। लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ। सिंगाे मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो।
स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि मनसुनी वर्षा अनुकूल हुँदै गइरहेको अवस्थामा धमाधम रोपाइँ भइरहेकामा पछिल्लो समय बीउको अभाव देखिएको छ।
साउन तेस्रो साताको अन्त्यमा महोत्तरीको रोपाइँ करिब ४९ प्रतिशत मात्र पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन्।
“सबै खेतमा हिल्याउनेगरी पानी अझै पुगेको छैन, हामी कतिपय ठाउँमा सडक, कुलो सोहोरेर खेत हिल्याउँदै छौँ”, भङ्गाहा–४ रामनगरका किसान काशी विन मुखियाले भने, “अहिलेलाई दुःखसुख पानी जम्मा गरे पनि बीउले धोका दिएको छ।”
यसपालि खडेरीले ब्याडमै बीउ सुकाएर हुर्कन नसक्दा अहिले बीउको अभाव भएको मुखियाको भनाइ छ। आफूले हिल्याइसकेको खेतमा बीउ नपुगेर रोपाइँ थाँति रहेको मुखियाले बताए। मुखिया अहिले बस्तीबस्ती चाहार्दै बीउ खोज्दै छन्।
मुखियाजस्तै सोही बस्तीका अर्का किसान इद्रिस कवारी पनि अब बीउको अभावले रोपाइँ नबढ्ने छाँट देखिएको बताउँछन्। “खडेरीले पहिले दुखजिलो रोपिएको धान पनि राम्ररी गाँजिन सकेन, त्यसैले खरुअन (पहिलो बीउ रोपो गााजिएपछि त्यो उखलेर रोपिने कार्य) पनि हुर्केन”, कवारीले भने, “अब पानी त जेनतेन भयो, बीउले सकस पार्दैछ।” महोत्तरीको कूल ७१ हजार हेक्टर जग्गामध्ये करिब ४५ हजार हेक्टरमा धानखेती हुँदै आएको छ।
यस वर्ष अहिलेसम्म ४९ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ। यो २२ हजार हेक्टरभन्दा माथिको क्षेत्रफल हो। साउन तेस्रो साता सुरु हुनअघि जिल्लामा ३० प्रतिशतमात्र रोपाइँ भएको थियो। यसैबीच वर्षा भएसँगै रोपाइँले गति लिइ अहिले ४९ प्रतिशत पुगेको हो।