काठमाडौं। सोलार प्यानलबाट सौर्य ऊर्जा निकाल्ने आठ कम्पनीले १७० मेगावाट विद्युत व्यापार सम्झौता (पीपीए) गरेका छन्।
गत वर्ष कार्तिकमा सोलार प्यानलबाट ९६० मेगावाटको विद्युत् निकाल्नका लागि ६३ वटा कम्पनी छनौट भएकामध्ये आठ वटा कम्पनीले पीपीए गरेका हुन्। ती कम्पनीले कम्तीमा पाँच मेगावाट र बढीमा ५० मेगावाट सौर्य विद्युत् निकाल्न सक्ने क्षमता छन्।
ती कम्पनीले कम्तीमा एक मेगावाटदेखि बढीमा ५० मेगावाट सौर्य ऊर्जा निकाल्न सक्ने गरी आवेदन दिएका छन्। हालसम्म पीपीए गरेका आठ आयोजनामध्ये गोल्यान ग्रुपअन्तर्गतका हुन्।
गोल्यान ग्रुपको कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, बर्दियाको भुरीगाउँ, नवलपरासीको नयाँ बुटवल, परासीलगायतमा आयोजना छन्। बाँकी ५५ वटा आयोजनाको पीपीएको प्रक्रियामा रहेको एनइएका प्रवक्ता राजन ढकालले बताएका छन्। ‘पीपीए सम्पन्न भइसकेका यी आठ आयोजना अब निर्माणको चरणमा प्रवेश गर्ने छन्,’ उनले भने।
एनइएले पीपीए प्रक्रियालाई अघि बढाउँदै लैजाने र केही आयोजनाको प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पठाइएको जानकारी दिए। यद्यपि, सम्झौता भएका र प्रक्रियामा रहेका आयोजनाको नाम खुलाइएको छैन।
एनइएले गत वर्ष २०८१ को कार्तिक ६ गते सोलार प्यानलबाट सौर्य विद्युत् उत्पादनका लागि ठेक्का अह्वान गरेको थियो। प्रस्तावअनुसार प्रतियुनिट विद्युतको बिक्री दर कम्तीमा ४.९९ रूपैयाँदेखि बढीमा ५.५४ रूपैयाँसम्म प्रस्ताव गर्ने कम्पनी करिब ७० वटा थिए। तीमध्ये ६३ वटा कम्पनीलाई ठेक्का योग्य ठहर भएकमा थिए। एनइएले ठेक्काका लागि आशय पत्र जारी गरेको थियो।