काठमाडाैं। सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ ५५ वटा आयोजना सम्पन्न गरेको छ। कार्यालयले जिल्लाका विभिन्न ठाउँमा गुम्बा, मठमन्दिर, विद्यालय भवन, आमा समूह भवन, खेलमैदानलगायत पूर्वाधार निर्माण गरेको हो।
पुँजीगततर्फ तीन करोड ८१ लाख ५० हजार बजेट विनियोजन भएकामा तीन करोड १३ लाख २५ हजार ५८४ खर्च भएको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिए। उनका अनुसार भानु नगरपालिका–११ स्थित मानेचौका छेदेन कर्मा छेलिङ गुम्बा निर्माण तथा संरक्षणका लागि पाँच लाख बजेट विनियोजन भएकामा चार लाख ८९ हजार एक सय ९६ खर्च भएको छ। उक्त रकमबाट गुम्बा स्तरोन्नति, तला थप तथा रेलिङ निर्माण गरिएको हो।
व्यास नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर निर्माणका लागि दश लाख, शुक्लागण्डकी नगरपालिका–१ स्थित ज्वालादेवी आमा समूह भवनका लागि पाँच लाख, भानु–१० स्थित गुरुङ सामुदायिक भवन निर्माण गर्न पाँच लाख, भानु–३ स्थित साँखुली सामुदायिक बहुउद्देश्यीय भवन मर्मत गर्न पाँच लाख र देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा कम्पाउण्ड निर्माणका लागि १० लाख बजेट विनियोजन भएको प्रमुख आचार्यले जानकारी दिए।
उनका अनुसार शुक्लागण्डकी नगरपालिका–५ स्थित दरगाउँ गुरुङ समाज भवन गर्न पाँच लाख, देवघाट–५ स्थित बद्रीनारायण मन्दिर रामानुज पिठ मर्मतका लागि पाँच लाख, शुक्लागण्डकी–२ स्थित किराखोर खेलमैदान निर्माण गर्न १० लाख, भिमाद नगरपालिका–५ स्थित राममन्दिर टोल वृद्धाश्रमका लागि रु दश लाख विनियोजन भएकामा रु नौ लाख ९२ हजार ८०५ खर्च भएको छ।