काठमाडौं। नेपाल राष्ट्र बैंकले आयातदेखि भुक्तानीसम्म नियममा परिवर्तन गर्दै राष्ट्र बैंकले गर्यो एकीकृत परिपत्रमा संशोधन गरेको छ। केन्द्रीय बैंक भुक्तानी प्रणली विभागले ‘विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१’मा संशोधन/परिमार्जनसँगै थप व्यवस्था गरेको हो।
विभागले सवारी साधान र ढुवानीका साधानको आयात, प्रतित पत्र (एलसी) भुक्तानी र धरौटीसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाएको छ। यसले आयातकर्ता र इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।
आयातका लागि एलसी जारी गर्दा बैंकले आफ्नो ‘करम्पोन्डेन्ट बैंक’मार्फत् विदेशस्थित बेनिफिसरीको नाममा भुक्तानीका लागि स्विफ्ट वा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानीका उपकरण प्रयोग गर्नुपर्ने छ।
साथै, प्रत्येक एलसीअन्तर्गत शून्य एकीकृत वस्तु तथा सेवा कर लाग्ने व्यवस्थामा विशेष आर्थिक क्षेत्रको निर्यातकर्ताले छुट पाउन भारतीय भन्सारसँगै भारतीय सरकारी निकायबाट प्रमाणित गर्नुपर्ने छ।
यसैगरी, राष्ट्र बैंकले विदेशमा रहेका वेनिफिसरीलाई भुक्तानी गर्ने व्यवस्थामा बिमा कम्पनीहरूले गर्ने लिने विशेषज्ञ सेवाहरू एम्चुरी, सर्वेयर, भ्युलेसनलाई भुक्तानीको सटही सुविधाका लागि नेपाल बिमा प्राधिकरणको सिफारिससमेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
नयाँ व्यवस्याअनुसार निर्यात प्रयोजनका लागि प्राप्त रकमको अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी निर्यातकर्तालाई रकम भुक्तानी दिनुपर्ने छ। यो व्यवस्था लागू हुनुपूर्व निर्यात रकम भित्र्याएर अग्रिम भुक्तानी प्रमाणपत्र जारी नभएकाको हकमा २०८२ पुस मसान्तभित्र अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्न बाधा नपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।
यस्तै, सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन लागू हुने सार्वजनिक निकायले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र तथा सार्वजनिक खरिद कानुन बमोजिमका अन्य खरिद विधि प्रयोग भई भारतबाट आयात हुने वस्तु तथा सेवा खरिदसम्बन्धी व्यवस्थासमेत परिवर्तन गरिएको छ।
जसमा सार्वजनिक खरिद कानुन लागू हुने सार्वजनिक निकायले सार्वजनिक खरिद कानुनबमोजिम खरिद गर्ने वस्तु तेस्रो मुलुकमा उत्पत्ति/निर्माण भई तेस्रो मुलुकबाट सिपमेन्ट हुने अवस्थामा त्यस्तो वस्तुको आपूर्तिकर्ता भारतीय फर्म/कम्पनी भएमा विद्यमान व्यवस्थाबमोजिम विदेशी मुद्रा (परिवर्त्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ)मा भुक्तानीका लागि सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।
सार्वजनिक निकायलाई वस्तु आपूर्ति गर्ने आपूर्तिकर्ता नेपाली संस्था भएमा नेपाली संस्थाले भारतस्थित संस्थासँग त्यस्तो वस्तु खरिद गर्दा सोको उत्पत्ति/निर्माण तेस्रो मुलुकमा भई तेस्रो मुलुकबाट सिपमेन्ट हुने अवस्थामा सोको भुक्तानी भारतमा परिवत्र्य विदेशी मुद्रा वा भारतीय रुपैयाँमा गर्ने सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले परिपत्र जारी गर्दै, कुनै देशको सरकारी निकाय, कुटनीतिक नियोग वा विदेशी संस्थाले भिसासम्बन्धी कार्यका लागि नेपालका संस्थालाई तोकेमा सो प्रमाणित हुने कागजातको आधारमा सम्बन्धित सरकारी निकाय/नियोग वा विदेशी संस्थालाई भिसा शुल्क पठाउन सकिने व्यवस्था गरेको छ।
यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिनभित्र अनिवार्य रुपमा विदेशी विनिमय व्यवस्थापन विभागलाई उपलव्ध गराउनुपर्ने छ। यस्तै, राष्ट्र बैंकले विदेशी नागरिक (भारतीयसमेत)को पारिश्रमिकको सटही व्यवस्था सम्बन्धमा नयाँ व्यवस्था गरेको छ।
रोजगारदातासँग गरेको करारमा वा रोजगारदाताबाट जारी नियुक्ति पत्रमा उल्लिखित पारिश्रमिकबापतको रकममा प्रचलित कानुनबमोजिम कर कट्टीपश्चात बाँकी हुने सम्पूर्ण रकमसम्म विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम विदेशी लगानी भएका नेपाली कम्पनी वा उद्योगमा कार्यरत विदेशी नागरिकलाई विदेशी मुद्रामा, नेपाली फर्म, कम्पनी वा संस्थामा कार्यरत गैर-बासिन्दा विदेशी नागरिकलाई विदेशी मुद्रामा र नेपाली फर्म, कम्पनी वा संस्थामा कार्यरत विदेशी नागरिकलाई भारतीय रुपैयाँमा तोकिएको कागजातका आधारमा सम्बन्धित मुलुकमा पठाउन सकिने व्यवस्था गरेको छ।
तर, नेपालमा स्थापित संस्थामा काम गरी पारिश्रमिकबापतको सटही सुविधाका लागि बैंक तथा वित्तीय संस्थाले निर्धारित कागजातको आधारमा कर कट्टीपश्चात्को रकमको बढीमा ७० प्रतिशत रकमसम्म परिवत्र्य विदेशी मुद्रामा सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
जसमा सम्बन्धित व्यक्तिको निवेदन, रोजगारदाता फर्म, कम्पनी तथा संस्थाको सिफारिसपत्र, नेपाल सरकार, श्रम विभागको श्रम स्वीकृति पत्र (भारतीय नागरिकको हकमा अनिवार्य नभएको), कर्मचारी परिचय पत्र र नियुक्ति पत्र/सम्झौता पत्र, पारिश्रमिक कर तिरेको प्रमाण वा भौचरको प्रतिलिपि, प्रवेशाज्ञा (भिसा) बहालसम्बन्धी प्रमाण (भारतीय नागरिकको हकमा अनिवार्य नभएको) हुनुपर्ने छ।