काठमाडौं। सामाजिक सुरक्षा कोषमा २८ लाख ३३ हजार ९०८ जना योगदानकर्ता आबद्ध भएका छन्। कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन १४ सम्म उक्त संख्याका योगदानकर्ता आबद्ध भएका हुन्।
कोषले रोजगारदाता औपचारिक तर्फबाट २३ हजार १२८ जना र ६ लाख ८२ हजार १२८ योगदानकर्ता आबद्ध भएको कोषले जनाएको छ। यस्तै, वैदेशिक रोजगारी अन्तर्गत २१ लख पाँच सय ५४ जना, अनौपचारिकतर्फ आठ सय ५५ जना र स्वरोजगारतर्फ आठ सय १७ जना योगदानकर्ता कोषमा आबद्ध भएका छन्।
तथ्यांकअनुसार कोषमा हालसम्म एक खर्ब तीन अर्ब ३० करोड रुपैयाँ जम्मा भएकोमा कोषमा दाबी रकम गर्नेको संख्या दुई लाख ७१ हजार तीन सय २५ जना रहेको छ।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत दुई अर्ब ९६ करोड ३३ लाख ५५ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ।
यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा एवं आश्रित परिवार सुरक्षा योजनामा छ अर्ब ४८ करोड ८९ लाख ८६ हजार रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनामा ८३ अर्ब १४ करोड ६६ लाख६४ हजार रुपैयाँ कोषमा जम्मा भएको छ।
यस्तै, अतिरिक्त योगदानअन्तर्गत एक अर्ब ८६ करोड ६१ लाख १६ हजार रुपैयाँ संकलन भएकामा प्रतिफलस्वरुप आठ अर्ब ८२ करोड ९३ लाख १७ हजार रुपैयाँ संकलन भएको कोषको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा कोषमा रकम दाबी गर्नेको संख्या दुई लाख ७१ हजार तीन सय २५ जना रहेका छन्। दाबी गर्नेमा औषधि उपचारतर्फ एक लाख ३४ हजार पाँच सय पाँच जना, दुर्घटना तथा अशक्ततातर्फ सात हजार दुई सय ६६ जना, आश्रित परिवारतर्फ आठ सय २९ र वृद्ध अवस्था सुरक्षा योजनातर्फ एक लाख २८ हजार सात सय २५ जनाले भुक्तानीका लागि दाबी गरेको कोषले जनाएको छ।
कोषका अनुसार १० लाख ३३ हजार छ सय ७८ हजार पटकको दाबीमा १९ अर्ब एक करोड रुपैयाँ भुक्तानी गरिएको छ । औपचारिक योगदान गर्नेमा सबैभन्दा बढी संख्या बागमती प्रदेशको छ । यस अवधिमा पाँच लाख ६ हजार ९०७ योगदानकर्ता कोषमा जोडिएका छन्। सबैभन्दा कम कर्णालीबाट ३ हजार ८ जना जोडिएको कोषले जनाएको छ।
यस्तै, कोसीबाट ७७ हजार एक सय ३२ जना, मधेशबाट ३३ हजार दुई सय ३७ जना, गण्डकीबाट २९ हजार सात सय सात जना, लुम्बिनीबाट २७ हजार ५३१ जना र सुदूरपश्चिमबाट चार हजार छ सय जना गरी कुल ६ लाख ८२ हजार एक सय ८२ जना व्यक्ति कोषमा जोडिएका छन्।
कोषमा आबद्ध हुने योगदानकर्तासँगै रोजगारदाता पनि बागमतीबाटै बढी छन् । बागमतीमा १५ हजार तीन सय आठ रोजगारदाता कोषमा जोडिँदा कोशीबाट दुई हजार पाँच सय ६१ जना, मधेसबाट एक हजार दुई सय ८६ जना, गण्डकीबाट एक हजार दुई सय ८६ जना, लुम्बिनीबाट एक हजार ९९७, कर्णालीबाट तीन सय ११ जना र सुदूरपश्चिमबाट तीन सय ७९ जना गरी कुल २३ हजार एक सय २८ जना रोजगारदाता कोषमा आबद्ध छन्।