ललितपुर। ललितपुरमा खानेपानी समस्या जटिल बन्दै गएको छ। जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन्।
दुई साताअघि ललितपुर महानगरको वडा–२५ र १८ अर्थात् भैंसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन। खानेपानी आउने आसमा २१ दिनसम्म रिक्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए।
त्यति मात्र होइन, महानगरको वडा–२२ र २१ अर्थात् बुङमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन। त्यहाँका जनता खानेपानीका लागि घन्टौं यात्रा गरेर पानीको मूल धाउन बाध्य भए। उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानीपानीको मुहान खोज्न भौंतारिए।
गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो। त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो।
उल्लिखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्यांकरको पानी किनेर ल्याएर दैनिकी चलाए। त्यतिमात्र होइन, पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का ट्यांकरमार्फत पानी पुर्याइयो।
तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्यांकरको पानी पुग्न सक्यो, न त केयुकेलकै। हजारौं सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिँड्न बाध्य भए। उनीहरू पानी बोक्ने जार, गाग्री र बोतल लिएर सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य भए। यस्ता समस्या उल्लिखित वडाको मात्र होइन, ललितपुरकै हो।
घरमा जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका स्थानीय गुनासो बोकेर दर्जनौं पटक काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा धाउँदै आए, अझै धाइरहेका छन्। केही स्थानमा तत्कालका लागि समस्या समाधान भए पनि अधिकांश स्थानका समस्या ज्यूकाँ त्यूँ छ।
ललितपुर महानगर–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले दुई साताअघि आफ्नो वडामा खानीपानी हाहाकार हुँदा ठूलो समस्या भएको बताए। दैनिकजसो उपभोक्ता वडा कार्यालयमा गुनासो लिएर ‘डेलिगेसन’ आउने गरेको उनले सुनाए। निरन्तर सम्बन्धित निकायमा झकझक्याउँदा पनि समस्या समाधान नहुँदा हैरान भएको उल्लेख गर्दै अध्यक्ष खत्रीले २१ दिनपछि जनताका घरका धारामा पानी आएको बताए।
ललितपुर महानगर–२५ का अध्यक्ष रवीन्द्र महर्जन भन्छन्, ‘गत वर्षको असोजमा गएको बाढीले खानीपानी संरचना भत्काएको र ती संरचनालाई अस्थायी रूपमा टालटुल गरिए पनि समस्या समाधान नभएकाले खानीपानीको समस्या भएको हो, फर्पिङबाट ल्याएको पानी बाग्मती नदीमा आएको बाढीले विच्छेद गरिदिँदा बुङमतीलगायत भैंसेपाटी क्षेत्रमा खानेपानी ठप्प भयो। निरन्तर खानीपानी मन्त्रालय, कार्यालय धाउँदाधाउँदा बल्ल २१ दिनपछि जनताका घरमा पानी पुर्याउन सकियो।’
अध्यक्ष महर्जन आफैं खानीपानीको पाइप जडान गर्न वडाका साथीहरूसँगै निरन्तर दुई सातासम्म खटिएका थिए। निरन्तरको प्रयासले तत्कालका लागि यस क्षेत्रमा खानेपानीको समस्या समाधान भएको उनले बताए।
त्यसैगरी समाजसेवी एवं महानगरको वडा–२५ का स्थानीय देवेन्द्रकुमार गौतम भन्छन्, ‘खानेपानीजस्तो संवेदनशील विषयमा राज्य गम्भीर भएर नलाग्दा जनता प्रताडित हुनु परिरहेको छ। खानेपानीमा पनि राजनीति हुने गरेको र समस्या समाधानमा आलटाल गर्दा जनताले दुःख भोग्नुपरेको छ।’
सम्बन्धित निकायले बेवास्ता गर्दा गत वर्षदेखिको समस्या समाधान गर्न ढिलाइ भएको उनको भनाइ छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखा कार्यालयका अनुसार ललितपुर जिल्लामा करिब ५० हजार बढी धारा जडान गरिएको छ।
ती धारामा मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी तथा फर्पिङ स्टिम प्रणालीबाट पानी निरन्तर पठाउन सकिए ललितपुरमा खानेपानी समस्या समाधान हुन सक्ने कार्यालयको भनाइ छ।
गत वर्ष असोज १२ को बाढीका कारण ललितपुरका विभिन्न ठाउँमा पाइप टुटफुट भएका थिए र हालसम्म ती समस्याको समाधान नभएकै कारण स्थानीयले पानीको समस्या भोग्नुपरेको उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका कार्यालय प्रमुख विजय विश्वकर्माले स्वीकार गरे।
उनले भने, ‘गत वर्षको बाढीका कारण धेरै पाइपमा क्षति पुगेको छ। चापागाउँ र फर्पिङ स्टिमबाट पानी पर्याप्त मात्रामा आउन सकेको छैन। फर्पिङ स्टिमबाट प्रतिदिन दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल पाइपमा आएको समस्याका कारण एक करोड २० लाख लिटरमात्र पानी ल्याएका छौं। मेलम्चीको पानी पनि बन्द भएको छ। स्थानीयलाई पानी पुगेको छैन र गुनासो आएको छ।’–रासस