काठमाडौं। सिद्धार्थ बैंकको खुद नाफा १०.२४ प्रतिशतले बढेको छ। बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आव असारसम्म ३ अर्ब ८ करोड खुद नाफा कमाएकामा गत आवको असारसम्म यस्तो नाफा बढेर ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको हो।
विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो। बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ। खराब कर्जालाई २.६२ प्रतिशतमा सीमित गर्दै सन्तुलित विस्तार गरेको छ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो। सेवा शुल्क र अन्य आम्दानीसमेत १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब पुगेको विवरणमा उल्लेख छ।
निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रहेको छ।
चुक्ता पुँजी १४ अर्ब रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) ५८ करोड रुपैयाँबाट २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड नाघेको छ।
असारसम्म बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ रुपैयाँ ६१ पैसा बढेको हो।
बैैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ। कर्जा तथा निक्षेप अनुपात ७६.९२ प्रतिशत पुगेको छ, जुन ०.२४ प्रतिशत बिन्दुले सुधारिएको हो।