काठमाडौं। टेली डाइरेक्ट कम्पनीले एक वर्षमै साढे ५ अर्ब रुपैयाँ बढीको साओमीका स्मार्ट फोन र एसेसरिज बिक्री गरेको छ। रमेश कर्पअन्तर्गत टेली डाइरेक्टले आर्थिक वर्ष २०२४ मा ५ अर्ब ६१ करोड ७० लाख रुपैयाँ बराबरको साओमीका स्मार्ट फोन र एसेसरिज बिक्री गरेको हो।
सन् २००९ डिसेम्बरमा स्थापना भएको कम्पनीले २०१८ सेक्टेम्बरबाट साओमीका फोन र अन्य सामग्री बिक्री थालेको थियो। सन् २०२३ मा ४ अर्ब ४३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। एकवर्षे अवधिमा कम्पनीले पौने २७ प्रतिशतले व्यापार वृद्धि गरेको हो। कम्पनीले गत वर्ष १५ करोड ८० लाख रुपैयाँ सेयरधनीलाई लाभांशसमेत वितरण गरेको थियो।
नेपालका लागी चिनियाँ मोबाइल ब्रान्ड साओमीका दुई अधिकृत बिक्रेतामध्येको टेली डाइरेक्टमा रमेश कर्पको मुख्य लगानी छ। टेली डाइरेक्ट कम्पनीका अध्यक्ष रोहित गुप्ता रमेश कर्मको उपाध्यक्षसमेत हुन्। टेली डाइरेक्ट कम्पनीले काठमाडौं उपत्यकासहित बाहिरी जिल्लामा साओमीका स्मार्ट फोन र एसेसरिज बजार विस्तार गरेको छ। कम्पनीले बिक्री गर्ने साओमीका स्मार्टफोनको व्यापार नेपाली स्मार्ट फोन बजारमा २८ प्रतिशत हिस्सा रहेको छ।
सुरुमा नोकिया र कलर्स मोबाइलको फोन बिक्री गर्ने यो कम्पनीले २०१८ देखि साओमी फोन बिक्री गर्दै आएको छ। हाल टेली डाइरेक्ट कम्पनीका ३२ डिलरले देशभर करिब १ हजार ३ सय आउटलेट सञ्चालन गरेका छन्।
कम्पनी २ अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा गराएको क्रेडिट रेटिङमा दीर्घकालीन कर्जामा त्रिपलबि माइनस र अल्पकालिन कर्जामा एथ्री पुनःपुष्टि गरेको छ। कम्पनीले प्राप्त गरेको दीर्घकालीन कर्जामा ‘त्रिपल बी माइनस’ ले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने विषयमा मध्यम जोखिम र अल्पकालीन कर्जामा ‘एथ्री’ले न्यून जोखिम रहेको संकेत गर्छ।
मोबाइल व्यापारमा सुधार गरेसँगै कम्पनीको रेटिङमा सुधार भएको हो। कम्पनीले आयकर र ह्रास कट्टीअघिको आम्दानीमा पनि सुधार ल्याउँदै मार्जिन ४।५३ कायम गरेको छ भने सञ्चालन खर्च, ब्याज र कर कट्टी मार्जिन पनि २।२४ प्रतिशत कायम गरेको छ। उक्त अवधिमा कम्पनीको इन्ट्रस कभरेट रेसियोसमेत ३.४७ गुणा रहेको छ।