काठमाडौं। निरन्तरको झरीपछि विभिन्न राजमार्गमा पहिरो जाँदा यातायात सञ्चालन अवरुद्ध भएको छ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड अवरुद्ध भएको हो।
दाउन्नेको ६५मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए।
लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध हुने गरेको छ। आज बिहानदेखि सडक पुनःअवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।
‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रक फसेर समस्या हुने गरेको छ’, उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ।’
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ। बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ।
बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध
बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ। आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौंलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरीक्षक थापाले बताए।
पृथ्वी राजमार्ग अवरुद्ध
धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ। रुखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो।
पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।
पहिरोका कारण काठमाडौं आउँदै गरेका सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्। लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ।
रिडी–वामीटक्सार सडक अवरुद्ध
अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ। सो सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।
डहरेमा लेदोसहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिबाङसम्म आउजाउ गर्ने सवारीसाधन रोकिएका छन्।
सडक सञ्चालन गर्न जोहाङ खैरेनीबाट प्रहरी टोली परिचालन गरिए पनि पानी परिरहेको र वर्षा नरोकिएका कारण कठिनाइ भएको प्रनाउ सारुले बताए। उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो।
त्यसैगरी सुक्खा पहिरोका कारण रिडी–खर्ज्याङ सडक पनि अवरुद्ध बनेको छ। उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ स्थित साँखरमा पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।
वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ।
जिल्ला प्रशासन कार्यालयले वर्षाको समय तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ। गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।