काठमाडौं। नेपाल बिमा प्राधिकरणले रसुवामा गत असार २३ को बाढीपहिरोले पुर्याएको क्षतिको बिमा दाबीबापतको रकम माग भएको तथ्यांक सार्वजनिक गरेको छ।
साउन २२ सम्म ११ वटा निर्जीवन बीमकबाट प्राप्त विवरणअनुसार ७८ वटा बिमा दाबीबापत ९८ करोड ५९ लाख रुपैयाँ क्षतिपूर्ति माग भएको प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
विवरणअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। यो २ वटा बिमा दाबीको हो।
शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्समा ८ करोड ७३ लाख, सानिमा जीआईसी इन्स्योरेन्समा ६ करोड ८४ लाख, नेको इन्स्योरेन्समा ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ९१ लाख रुपैयाँ बिमा दाबी भुक्तानी क्षतिपूर्तिबापत माग गरिएको छ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्समा ४७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख र प्रभु इन्स्योरेन्सले २८ लाख रुपैयाँ बिमा दाबी भुक्तानी दिनुपर्ने उल्लेख छ।
हालसम्म सर्वाधिक दाबी सम्पत्ति बिमातर्फ परेको छ। सम्पत्ति बिमामा बीमकले ६ वटा दाबीको ६१ करोड ४७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।
सामुद्रिक बिमातर्फ २२ करोड ४ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ९५ लाख, मोटर बिमा (निजी)तर्फ ५ करोड ५८ लाख र मोटर बिमा (सार्वजनिक)तर्फ ३ करोड ५५ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ।
