पर्सा। पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फर्स्योट गरेको छ। अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कुल १२ हजार ६३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फर्स्योट गरेको हो।
न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फर्स्योटको प्रतिशतमा वृद्धि भएको जानकारी दिए। ‘पर्सा जिल्ला अदालतले अघिल्लो आवमा ५७ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो। गत आर्थिक वर्षमा भएको मुद्दाको फर्स्योट प्रगति उन्मुख देखिएको छ’, उनले भने, ‘मुद्दा फर्स्योटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्त्वपूर्ण हुने गर्छ।’
अघिल्लो आवबाट जिम्मेवारी सरेका ६ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा संख्या ६ हजार ५४३ छन्। त्यस्तै, अदालतमा १८ महिना नाघेका मुद्दाको संख्या ३६७ र दुई वर्ष नाघेका मुद्दाको संख्या तीन सय ३४ रहेका छन्।
न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायापालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै काम गर्दै आइरहेको जानकारी दिए।
‘चालू आर्थिक वर्षमा गत आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता हुने गरी करिब १३ हजार ४६८ मुद्दा दर्ता हुने लक्ष्य राखेका छौं,’ उनले भने, ‘चालू आवमा लक्ष्यको ६६ प्रतिशत अर्थात् ८ हजार ८३७ वटा मुद्दा फर्स्योट गर्ने लक्ष्य निर्धारण गरेका छौं।’
अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फर्स्योट गर्ने योजना रहेको जानकारी दिए। अदालतमा ११ न्यायाधीश कार्यरत छन्।
अदालतमा कार्यरत न्यायाधीशमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरिमा ९८३ मुद्दा फर्स्योट गर्न सफल भएका छन्। उनलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।
न्यायाधीश दीपक खनालले ९३९ मुद्दा फर्स्योट गरेका छन्। न्यायाधीश नन्दकिशोरप्रसाद यादवले सात सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले ६ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले ५ सय पाँच मुद्दा फर्स्योट गरेका छन्।
त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौं र पर्सामा गरी ६२४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी ६५७ मुद्दा फर्स्योट गरेका छन्।
न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीस रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फर्स्योट गरेका छन्।
पर्सा जिल्ला अदालतले गत आव ९५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फर्स्योट गरेको छ। जबकि गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो। गत आवभरिमा प्रतिन्यायाधीश आठ सय ४३ मुद्दा फर्स्योट लक्ष्य तोकिएको थियो।
न्यायाधीश खनालले अदालतले न्याय सम्पादन गर्दा अदालतको प्रक्रिया र कार्यविधिलाई आधार मानेर फैसला गर्ने बताए।–रासस