खोटाङ। लगातारको वर्षाले पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडक खण्ड अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारमा सोमबार बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम-हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जाने/आउने यातायातका सवारी साधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन्। जयराम-हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन्।
करिब १०० मिटर जति सडक पुर्ने गरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
पहिरोका कारण जयराम-हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन्।
साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको संख्या बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं-७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।
अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसीमा महिनादिनसम्म बोलबम मेला लाग्ने गर्दछ। बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भुटानलगायतका नागरिकसमेत आउने गरेका छन्।