काठमाडाैं। सामुदायिक वन समन्वय समितिले आव २०८२/८३ का लागि वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। समितिले वन संरक्षण र जैविक विविधता संवद्र्धनसँगै उपभोक्ताको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ।
समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार योजनाअन्तर्गत वनमा आश्रित जनताको निर्भरता घटाउन वैकल्पिक आयआर्जनका कार्यक्रम विस्तार गरिनेछ। “वन जोगाउन आर्थिक विकल्प दिनु जरुरी छ”, उनले भने, “त्यसैले यस वर्षको योजना दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढाइनेछ।”
कार्ययोजनामा डढेलो नियन्त्रण, खुला चरिचरण व्यवस्थापन, बधुवा पशुपालनमा सहयोग, घाँस–चारा उत्पादन र भकारो सुधारजस्ता गतिविधि समावेश छन्। चोरी–शिकारी नियन्त्रण दल परिचालन, गस्ती व्यवस्था, सदस्यहरूको दुर्घटना बीमा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेसवायर र विद्युतीय तारवार जडान, वन्यजन्तु उद्धार र राहत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष जोशीले बताए।
“घोलमुहान निर्माण तथा मर्मत, पानी मुहान संरक्षण, घाँसे मैदान व्यवस्थापन, निजी वन प्रर्वद्धन, बहुवर्षीय नर्सरी सञ्चालन, भू–क्षय नियन्त्रण, जैविक तटबन्ध, नदी उकास र नदी तटीय वन संरक्षणजस्ता योजना अघि बढाउने योजना बनाएका छौं”, उनले भने, “नदी किनारमा वेत, बाँस, भेटिवर घाँस र अम्रिसो रोपणमार्फत जलवायु न्यूनिकरणमा योगदान पुर्याउन कार्यक्रम सञ्चालन गछौं।”
चुरे क्षेत्रका पानी मुहान संरक्षण, सरोकारवालासँग समन्वय बैठक र विशेष कार्यक्रम सञ्चालन पनि यस वर्षको योजनामा रहेको उनले जानकारी दिए। समितिले १५ सामुदायिक वनको कार्ययोजना नवीकरणमा सहयोग कार्यक्रम कार्ययोजनामा समावेश गरेको छ।
उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउन दुना–टपरी, मसाला, होजियारी, अम्रिसो झाडु, बेत–बाँस र फर्निचर उद्योग सञ्चालन गर्ने योजना बनाइएको उल्लेख गर्दै अध्यक्ष जोशीले यसका लागि स्थानीय तहसँग साझेदारी गर्ने योजना रहेको बताए।