काठमाडौं। एनएमबी बैंकको खुद नाफा ४६.२२ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत वर्ष ३ अर्ब २८ करोड आम्दानी गरेको हो।
बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकले १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ वितरण योग्यनाफा कमाएको छ।
यसबाट बैंकले लगानीकर्तालाई १०.४० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड ३८ लाख रुपैयाँ नकारात्मक थियो।
गत वर्ष बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले ८ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ।
एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन २५.४५ प्रतिशत र कर्जा प्रवाह १७.९१ प्रतिशतले बढाएर ब्याज आम्दानीसँगै अघिल्लो वर्ष कर्जाको प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) फिर्ता हुँदासमेत खुद नाफा र वितरणयोग्य नाफा वृद्धि भएको हो।
उक्त अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९४ करोड २१ लाख रुपैयाँ बढी फिर्ता भएको छ। अघिल्लो वर्ष बैंक कर्जामा २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ प्रोभिजन गरेको थियो। कर्जा रिकोभरी राम्रो भएसँगै उक्त प्राभिजन फिर्ता भई इम्पेयरमेन्ट चार्ज गत वर्ष ९५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।
यस्तै, समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ३.४० प्रतिशत र खुद निष्कृय कर्जा अनुपात १.३५ प्रतिशत कायम भएको छ। उक्त अवधिमा बैंकको बेसरेट ६.२२ प्रतिशत, स्प्रेड दर ३.८२ प्रतिशत, सिडी रेसियो ८४.३३ प्रतिशत र प्रतिसेयर आम्दानी १७.८७ रुपैयाँ छ।