काठमाडौं। मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घन्टा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। सोही कारण आज दिउँसो देशभर पूर्णतया मौसम अदलीबदली हुनेछ।
देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकाध स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ।