काठमाडौं। प्रभु बैंकको अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा खुद नाफा उल्लेख्य बढेको छ।
बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आवमा ९६५.४१ प्रतिशतले बढेको हो।
बैंकले गत आर्थिक वर्ष अन्त्यसम्म ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ। सोही कारण नाफा वृद्धिदर उल्लेख्य देखिएको हो। गत वर्षको विवरणअनुसार २०८१ असारसम्म बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो।
इम्पेयरमेन्ट चार्जको प्रभावकारी व्यवस्थापनका कारण प्रभु बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष २०८१ असार मसान्तसम्म बैंकको इम्पेयरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ मात्र रहेकोमा, यस वर्ष सोही अवधिसम्म यो रकम ४ अर्ब ७१ करोड पुगेको छ। यस रणनीतिक समायोजनले सम्पत्ति गुणस्तर सुदृढ बनाउँदै सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुर्याएको छ, जसको सकारात्मक प्रभाव बैंकको नाफा वृद्धिदरमा स्पष्ट देखिएको छ।
विवरणअनुसार २०८२ असारसम्म बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको विवरणमा उल्लेख छ।
प्रभु बैंकको यो उपलब्धिले नेपालको बैंकिङ क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा आफ्नो बलियो उपस्थिति पुनः स्थापित गरेको छ। व्यवस्थापन टोलीले आगामी वर्षमा पनि स्थिर वृद्धि कायम रहने विश्वास व्यक्त गरेको छ।