काठमाडौं। ग्लोबल आइएमई बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा वितरणयोग्य नाफामा फराकिलो वृद्धि गरेको देखिएको छ।
बैंकले आज प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष असारसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ।
बैंकले अघिल्लो आव असारसम्म ६ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो भने गत आव असारसम्म १.१० प्रतिशतले खुद मुनाफा बढेको हो।
अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यस्तो आम्दानी गत वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बैंकले गत वर्ष २१ अर्ब ३७ करोड रुपैयाँ कुल आम्दानी गरेको छ जबकि अघिल्लो वर्ष यस्तो आम्दानी २० अर्ब ६५ करोड थियो।
बैंकको सञ्चालन नाफा २.७५ प्रतिशतको गिरावटसहित ८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ९ अर्ब १ करोड रुपैयाँ थियो। यस्तै, प्रतिसेयर आम्दानी १६.९९ रुपैयाँबाट घटेर १६.२८ प्रतिशतमा झरेको छ।
सबैभन्दा बढी चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २४ अर्ब १० करोड रहेको छ। बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ५० करोड ६७ लाख रुपैयाँ रहेकामा गत वर्ष ९६१.६० प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ नाघेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ, ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी र ५ खर्ब ५० अर्ब ६२ करोड निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ।