काठमाडौं। गृहमन्त्री रमेश लेखकले आफ्नो जिल्लामा बस्न रुचाउने भएको र अन्यत्र सरुवा नगरिदिन आग्रह गर्ने गरेका कारण कतिपय कारागारमा क्षमताभन्दा धेरै गुणा बन्दीहरु रहेको प्रष्ट पारे।
प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा यही साउन २२ गते धनगढी कारागारमा भएको घटनाबारे जानकारी दिँदै उनले भने, “कारागारलाई सुधारगृहको रुपमा विकास गर्ने सन्दर्भमा कारागार परिसरभित्रै अस्पताल, कारखाना, विद्यालय, खेल मैदानलगायतका सुविधासहितका सुविधा सम्पन्न कारागार बनाउने नीति लिएको छ। तर बन्दीको चाहना साना कारागारमा क्षमताभन्दा बढी सङ्ख्यामा रहेर भए पनि घर पायकको स्थानमा बस्ने रहेको देखिन्छ।”
कारागार ऐन, २०७९ को दफा १७ मा व्यवस्था भएबमोजिम थुनुवा, तेस्रो लिङ्गी, मानसिक अवस्था ठीक नभएका, प्रचलित कानुनबमोजिम गम्भीर र जघन्य कसुरमा सजाय पाएका बन्दीहरुलाई अन्य बन्दीभन्दा अलग कोठामा राख्न नसकिएको मन्त्री लेखकको भनाइ छ। यही साउन २२ गते राति धनगढी कारागारमा बन्दीहरुबीच झडपपछि अहिले घटनापश्चात् तत्काल घाइतेहरुलाई अस्पताल लगिएको र सो अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याई दुई जनाको ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए।
बाँकी ४५ जना सेती प्रादेशिक अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको छ र मृतक बन्दीको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको गृहमन्त्रालयले जनाएको छ।
मन्त्री लेखकले केन्द्रीय कारागार नुवाकोटको निर्माण सम्पन्न गर्न र जीर्ण कारागार भवनको पुनर्निर्माणको लागि पर्याप्त बजेट विनियोजन गर्ने, हाल कारागारहरुमा प्रदान गरिएको विद्युत्को महसुल कर्पोरेट हाउससरह भएकोमा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।