काठमाडौं। विश्वभर रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ)ले नयाँ सरकारलाई नागरिकता र लगानीमैत्री नीति कार्यान्वयनको लागि आग्रह गरेको छ। दुई तिहाई नजिकको सिट जितेर एकल सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टि(रास्वपा)बाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह(बालेन)लाई शुभकामना व्यक्त गर्दै युएनडीओ नागरिकता र लगानीमैत्री नीति कार्यान्वयनको आग्रह गरेको हो।
संगठनका अध्यक्ष सोनाम लामाद्वारा जारी बधाई सन्देशमा नेपालको संविधान २०७२ अनुसार २१ फागुन २०८२ मा सम्पन्न निर्वाचनमार्फत ऐतिहासिक मतादेशसहित प्रधानमन्त्रीमा नियुक्त हुनु देशको लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ।
युएनडीओले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै विश्वभर फैलिएका नेपालीलाई एकताबद्ध गर्दै आएको बताउँदै नेपालको सामाजिक तथा आर्थिक विकासमा सहकार्य गर्न सधैं तत्पर रहेको जनाएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको हकहितका विषयमा नेपाल सरकारसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
संगठनले विशेषगरी नेपाली डायस्पोराको नागरिकताको निरन्तरता सम्बन्धी विषयलाई जोड दिँदै संविधानले व्यवस्था गरिसकेको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनलाई शीघ्र मूर्तरूप दिन आग्रह गरेको छ। संविधानको मर्मअनुसार राजनीतिक अधिकार बाहेक अन्य सबै अधिकार सुनिश्चित गरिनुपर्नेमा ग्ल्म्इ को जोड रहेको छ।
त्यस्तै, विदेशमा रहेका नेपालीहरूको लगानीलाई आकर्षित गर्न एकद्वार प्रणालीमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ। यसले आर्थिक विकासमा टेवा पुग्ने विश्वास संगठनले व्यक्त गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको आधार बनेको संविधानको मर्मअनुसार नागरिकका अपेक्षा सम्बोधन गर्न र ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्न प्रधानमन्त्रीको नेतृत्व सफल हुने विश्वास व्यक्त गरिएको छ।
युएनडीओले नयाँ सरकारको कार्यकालमा डायस्पोरा सम्बन्धी मुद्दाहरूले प्राथमिकता पाउने अपेक्षा गर्दै समग्र राष्ट्रहितमा ठोस काम हुने विश्वास व्यक्त गरेको छ। युएनडीओका अध्यक्ष लामा सहितको प्रतिनिधिले प्रधानमन्त्री शाहलाई सुभकामना सन्देश कानुन मन्त्री सोविता गौत्तममार्फत पठाएका हुन्। बिहीबार कानुन मन्त्रालयमा भेट गरी शुभकामना प्रदान गर्दै विदेशमा रहेका नेपालीहरु नेपालमा लगानी ल्याउन प्रतिबद्ध रहेको सन्देश समेत दिएको अध्यक्ष लामाले बताए।