काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।
चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा ४५४, क्याप–आईआई तहमा ४०४ र क्याप–आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। क्याप–आईआईआई तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थी संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन्।
परीक्षाको नतिजाबमोजिम चार्टर्ड एकाउन्टेन्सी आधारभूत तहमा प्रशेन्जित शाक्य, नलिना खनाल र रोशन महतले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान, मध्यम तह (क्याप–आईआई) मा अभिषेक दाहाल, मो सलमान र शिशिर अर्यालले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान र अन्तिम तह (क्याप– आईआईआई)मा सागर ज्ञवाली, स्मृति पौडेल र कुशल गौतमले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन्।
संस्थाले जुन २०२५ मा सञ्चालन गरेको सिए मेम्बरसिप फर एसिसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यको वर्गवृद्धि परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ।
परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीको लब्धांकपत्र तथा प्रमाणपत्र परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनपश्चात् वितरण गरिनेछ।
परीक्षा नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १० दिनभित्र पुनर्योग फाराम भरी निवेदन दिन सकिने जनाइएको छ।