काठमाडौं। वाणिज्य बैंकहरूले भदौका लागि नयाँ ब्याजदर घोषणा गरेका छन्। बैंकहरूको औषत ब्याजदर साउनको तुलनामा भदौमा झनै घटेको हो।
साउनको तुलनामा २० वाणिज्य बैंकमध्ये ८ बैंकले भदौका लागि ब्याजदर घटाएका छन् भने प्रभु बैंकले बढाएको छ। स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।
साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औषतमा ५.६९ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकले भदौमा अधिकतम औषतमा ५.५७ प्रतिशत ब्याज दिने भएका छन्। साउनमा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत विन्दु रहेका बैंकहरूको अधिकतम औषत ब्याजदर भदौमा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइ रहेको स्ट्यान्डर्ड चार्टर्डले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १.१३ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो। प्रभु बैंकले निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक प्रभु बैंक थियो।
व्यक्तिगत मुद्दती निक्षेपमा भदौ महिनामा एनआईसी एसिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो। बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ। निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको रहेको छ। सो बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ।
संस्थागत मुद्दती निक्षेपमा भने ७ वाणिज्य बैंकले अधिकतम ब्याजदर घटाएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। यस्ता बैंकको मुद्दती निक्षेपको ब्याजदर औषतमा ०.१५ प्रतिशत बिन्दु घटेको छ।