काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले नीति निर्माता र भुइँतहका नागरिकबीचको खाडल (डिस्कनेक्ट) अन्त्य गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
कार्यवाहक गभर्नर पण्डितले नीति निर्माणको तहमा बस्नेहरू र वास्तविक क्षेत्रमा काम गर्ने किसान, युवा तथा उद्यमीहरूबीच ठूलो संवादहिनता रहेको औँल्याए। ‘अहिले मन्त्रालय, राष्ट्र बैंक वा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरू र भुइँतहका युवा, किसान वा साना व्यवसायीबीच एउटा डिस्कनेक्ट देखिन्छ,’ उनले भने, ‘साँच्चैको ग्रास लेभलका समस्या के हुन् भन्ने कुरा नीति निर्माणको टेबलसम्म पुग्नुपर्छ र यस्ता फोरमहरूले त्यो ग्यापलाई मेटाउनुपर्छ।’
बजेट आइसकेको र अब मौद्रिक नीति तर्जुमाको क्रममा रहेको उल्लेख गर्दै उनले राष्ट्र बैंकले आफ्ना सीमा र लक्ष्यहरूलाई ध्यानमा राखेर नीति ल्याउने जानकारी दिए। उनले उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पु¥याउँदै गर्दा वित्तीय स्थायित्वका अन्य सूचकहरूलाई पनि सन्तुलनमा राख्नुपर्ने चुनौती रहेको बताए।
पण्डितले मौद्रिक नीतिलाई वैशाखदेखि असारसम्मको ‘दौडादौड’को विषय मात्र बनाउन नहुनेमा जोड दिए। उनले भने, ‘नीतिगत सुधार र छलफल त वर्षैभरि (राउन्ड द क्लक) हुनुपर्छ। क्रेडिट रेटिङ, रिस्ट्रक्चरिङ वा पुँजी निर्माण जस्ता विषयमा बेलाबेलामा थिमेटिक छलफल गरी प्राप्त हुने सुझावका आधारमा राष्ट्र बैंकले डेटामा आधारित निर्णय लिन सजिलो हुन्छ।’
बजारमा रहेका अतिवादी अपेक्षाहरूले कहिलेकाहीँ नियमित नियामक सुधारका कामलाई समेत प्रभावित पार्न सक्ने भन्दै उनले सचेत गराए। ‘सबै कुरा मौद्रिक नीतिले नै गरिदियोस् भन्ने अपेक्षा राख्दा कहिलेकाहीँ हामी बाटो विराउन सक्छौँ, त्यसमा हामी सजग छौँ,’ उनले थपे।
आगामी दिनमा डिजिटल प्लेटफर्म, बैंक र फिनटेकबीचको साझेदारी, ओपन बैंकिङ र डिजिटल ठगी नियन्त्रणका लागि ट्रान्ज्याक्सन मोनिटरिङ जस्ता विषय राष्ट्र बैंकको प्राथमिकतामा रहने उनले संकेत गरे। मिडियाले पनि यस्ता गम्भीर विषयमा बहस चलाएर नीति निर्मातालाई झक्झक्याउनुपर्ने उनको भनाइ थियो।