काठमाडाैं। गण्डकी प्रदेशमा गत पुसयता डेंगु संक्रमित हुनेको संख्या आठ सय ११ पुगेको छ। पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगु रोग देखिएको हो।
मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेंगु देखिएको छैन। प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन्। पोखरामा हालसम्म चार सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ। पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेंगु संक्रमणका बिरामी थपिएका थिए।
प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगुको ‘हटस्पट’ बनेको थियो। उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेंगु संक्रमण भएको थियो। डेंगु संक्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो।
साउनदेखि कात्तिकसम्म डेंगु संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ। डेंगु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन्।