नेपालको राजधानी काठमाडौंमा एक हप्ताको अन्त्यतिर एउटा मर्टिनी ग्लासको टुप्पोमा बारटेन्डरले ‘टिटौरा’- अमिलो र पिरो स्वाद भएको परम्परागत फलफूल परिकार- सजाएर राख्छन्।
यो नयाँ पुस्ताका बारटेन्डरले पुराना तरिका र स्थानीय स्वादलाई मिसाएर बनाएका पेयको उदाहरण हो। जसले नेपाली ककटेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थालेको छ।
पुरानो दृश्य, नयाँ मोड
केही वर्षअघिसम्म काठमाडौंका बार मेनुमा ककटेल खासै महत्त्वपूर्ण मानिँदैनथ्यो। प्रायः बियर वा स्ट्रेट स्पिरिट्स प्राथमिकतामा हुन्थे। उपलब्ध ककटेल प्रायः असन्तुलित, अत्यधिक शक्तिशाली वा धेरै मिठा हुन्थे।
तर पछिल्ला पाँच वर्षमा दृश्य परिवर्तन भएको छ। विदेशमा सिप आर्जन गरेका नयाँ पुस्ताका बारटेन्डरले काठमाडौंमा फर्किएर स्थानीय मौलिकपन मिसाएर नयाँ शैलीका पेय बनाउन थालेका छन्।
एसियाको ५० उत्कृष्ट बारसम्मको यात्रा
सिंगापुरमा वित्तीय क्षेत्रमा काम गरेर फर्किएका अभिषेक तुलाधरले सुरु गरेको बार्कले यस वर्ष प्रतिष्ठित एशिया’स ५० बेस्ट बार्सअन्तर्गतको मिच्टर्स आर्ट अफ हस्पिटालिटी अवार्ड जितेको छ। सो बार हालै ३५औँ स्थानमा उक्लिएको छ।
बार्कको मेनुमा इलामको चिया, बाल्यकालमा खाइने परिकारजस्तै टिटौरा, खट्टु (सुक्खा फल मिठाई) र परम्परागत नेपाली मदिरा ऐलालाई स्थानीय मसला मिसाएर नयाँ स्वादमा प्रस्तुत गरिएको छ।

सृजनशीलतामा बाध्यता
हङकङबाट फर्किएका रबिन गुरुङले खोल्ने क्रममा सामान्य सामग्री लेमन पाउनै मुस्किल भएको बताउँछन्। 'रेसिपीमा लेमन चाहिन्छ तर बजारमा केवल लाइम मात्र पाइन्थ्यो,' उनले भने। अन्ततः उनले नेपालमै पाइने सिट्रस प्रजातिहरू खोजेर समाधान निकाले।
त्यस्तै, अमेरिकाबाट फर्किएका २९ वर्षीय सन्तोष फैयाँले सञ्चालन गरेको ब्ल्याकबर्ड र नयाँ बार लायाले पनि काठमाडौंमा ककटेल संस्कृतिलाई लोकप्रिय बनाउन योगदान पुर्याइरहेका छन्। आयातित सामग्री महँगो वा दुर्लभ हुँदा उनीहरूले घरमै बिटर्स, सिरप र ‘बबल-फ्री’ आइस बनाउन थालेका छन्।
अनुभवी भारतीय बारटेन्डर याङ्दुप लामाले काठमाडौंमा नयाँ खुलेको द ओल्ड हाउस को मेनु तयार पारेका छन्। उनले भने, 'नेपाली बारमा अहिले उपभोक्ताले ‘वा१’ भन्ने अनुभव पाउन थालेका छन्।'

रोजगारी र अवसर
नेपालमा दैनिक झण्डै एक ६०० युवा वैदेशिक रोजगारीका लागि विदेशिने तथ्यांकबीच, ककटेल उद्योगले नयाँ रोजगारी सिर्जना गर्दै बारटेन्डिङलाई स्थायी पेशा बन्न सक्ने आशा जगाएको छ।
फैया भन्छन्, 'अब बारटेन्डिङलाई करिअरको रूपमा लिन सकिन्छ भन्ने सोच बढ्दै गएको छ, यसले युवालाई परिवारसँगै नेपालमै काम गर्ने अवसर दिन्छ।'
यद्यपि, नेपाल अझै पनि एशियाकै गरिब देशमध्ये एक भएकाले यी पेय सामान्य जनताका लागि महँगो पर्न सक्छन्। तर पछिल्लो वर्ष मात्र थुप्रै नयाँ बार खुलेका छन् जसले नेपाली नाम र सामग्रीलाई प्राथमिकता दिएका छन्।
विश्वको ध्यान तान्दै
एशिया ५० बेस्ट बार्सकी कन्टेन्ट प्रमुख एम्मा स्लेट भन्छिन्, 'नेपाली आतिथ्य सधैं हृदयस्पर्शी र आत्मीय हुन्छ। जब यसमा नेपालको संस्कृतिको गहिराइँ, यहाँका अद्भुत सामग्री र जनताको उत्साह मिसिन्छ, त्यतिबेला साँच्चिकै अद्वितीय अनुभव सिर्जना हुन्छ।'
