काठमाडौं। सन् २०१२ मा स्थापना भएको एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत किताबमुखी अभ्यासबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाईमा रूपान्तरण गर्दै आएको छ।
यही उद्देश्यलाई अघि बढाउँदै एम्बार्क अनम्याथको टिमले अगष्ट ४ देखि ८ सम्म चितवनका तीन विद्यालय अङ्कुरम् स्कुल, शिक्षा विकास स्कुल र स्मल हेभन स्कुलमा अन्तरक्रियात्मक कक्षा कोठा तालिम सञ्चालन गरेको थियो।
यस तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्यायो। अवलोकन, नमुना कक्षा, निर्देशन र शिक्षक नेतृत्वमा भएका अभ्यास सत्रका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षा कोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाई अनुभव दिने लक्ष्य राखेको थियो। विद्यालयअनुसार तालिम फरक फरक ढंगले सञ्चालन गरिएको थियो।
अङ्कुरम् स्कुलका शिक्षकले विभिन्न गतिविधि आफैं सञ्चालन गरेका थिए। एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो।
शिक्षा विकास स्कुलको टिमले पहिलो दिन नमुना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकहरूले आफै अभ्यास गरेका थिए। त्यसैगरी स्मल हेभन स्कुलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकहरूले नयाँ विधिहरूमा सक्रिय सहभागिता जनाएका थिए।
तालिममा सहभागी शिक्षकहरूले सकारात्मक अनुभव साझा गरेको बताए। स्मल हेभन स्कूलका एक शिक्षकले भने, 'विद्यार्थीहरूले गतिविधिहरूमा देखाएको उत्साह हेर्दा हामी यी विधिहरू निरन्तर प्रयोग गर्ने आत्मविश्वास पाएका छौँ।'
यस तालिमबाट शिक्षकहरूले नयाँ रणनीतिमा व्यावहारिक अनुभव पाएको बताए भने विद्यार्थीहरूले पनि कक्षामा सक्रिय सहभागिता देखाएका थिए। विशेषगरी शिक्षा विकास स्कुलमा भएको तालिमले शिक्षक र विद्यार्थी दुवैलाई गहिरो प्रभाव पारेको बताए।
एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रीहेड मोहिनी श्रेष्ठले बताए।