काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ८७ हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा बिजुली बेचेर ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको वित्तीय सार्वजनिक भएको छ।
बिजुली कम्पनीले बाढीपहिरोले भौतिक संरचना प्रभावित पारे पनि उत्पादनमा अवरोध नहुँदा बिजुली बिक्रीबाट हुने आय बढाएको को देखिएको हो।
नेप्सेमा सूचीकृत कम्पनीले गरेको आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.९३ प्रतिशतले बढी हो। अघिल्लो आवमा जलविद्युत् कम्पनीले ३३ अर्ब ५६ करोड २३ लाख २५ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको विवरण छ।
यस अवधिमा अपर तामाकोसी जलविद्युत् सर्वाधिक गर्ने कम्पनी बनेको छ। कम्पनीले गत आर्थिक वर्षमा बिजुली बेचेरै ६ अर्ब ९२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त आम्दानी गत वर्षको तुलनामा भने २०.२२ प्रतिशतले कम हो।
गत आर्थिक वर्षमा साहज ऊर्जाले २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँको बिजुली बेचेर दोस्रो कम्पनी बनेको छ। साहस ऊर्जाले अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशत बढी आम्दानी गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।
यस्तै, सानिमा मिडिल हाइड्रोले बिजुली बेचेर १ अर्ब ९७ करोड ३१ लाख, अपि पावरले १ अर्ब ६५ करोड १२ लाख, ग्रिन भेन्चर्सले १ अर्ब ६१ करोड ३६ लाख, माउन्टेन इनर्जीले १ अर्ब ३० करोड ७२ लाख, चिलिमे हाइड्रोपावरले १ अर्ब १२ करोड, ग्रिनलाइफ हाइड्रोपावरले १ अर्ब १२ करोड ३१ लाख, पिपुल्स पावरले ९७ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
वित्तीय विवरणमा उल्लेख भएअनुसार यस अवधिमा बिजुली बेचेर सबैभन्दा कम अपर स्याङे हाइड्रोपावरले १ करोड १९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको हो।
विवरणअनुसार विद्युत बिक्री आम्दानी शुभम पावरको २ करोड २४ लाख, माथिल्लो मैलिङ खोलाको २ करोड ५४ लाख, जोशी हाइड्रोपावरको २ करोड ५४ लाख रहेको छ।
विद्युत् बिक्री बढ्दा हाइड्रोपावरले गत आर्थिक वर्षमा २ अर्ब १९ करोड १२ लाख १ हजार रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो।