काठमाडौं। नबिल बैंकले प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ को उपाधि जितेको छ। बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त यो अवार्ड युरो मनी म्यागजिनले प्रदान गर्दै आएको छ।
नबिल बैंकले दिगो बैंकिङका क्षेत्रमा गरेका प्रशंसनीय कार्यहरूको उच्च मूल्यांकन गर्दै यो सम्मान प्राप्त गरेको हो। बैंकले ग्राहकलाई प्रदान गर्ने सेवा, प्रविधिको प्रयोग, र दिगोपना सम्बन्धी पहलकदमीलाई आधार मानेर यो अवार्ड दिइएको हो। यो अवार्डलाई बैंकिङ क्षेत्रको गुणस्तर र विश्वसनीयताको अन्तर्राष्ट्रिय मापदण्ड मानिन्छ।
बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडीजी) लाई आत्मसात गर्दै आफ्नो कार्यप्रणालीमा वातावरणीय, सामाजिक, र सुशासनका सिद्धान्तहरूलाई प्राथमिकता दिँदै आएको छ। नबिल बैंकले वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको रक्षा, र नैतिक सुशासनको अभ्यासलाई आफ्नो रणनीतिको मुख्य हिस्सा बनाएको छ। यसका अतिरिक्त, बैंकले कार्बन फुटप्रिन्ट कम गर्ने, जिम्मेवार बैंकिङलाई प्रवर्द्धन गर्ने, र वित्तीय साक्षरता विस्तार गर्ने जस्ता कार्यमा पनि सक्रियता देखाएको छ।
नबिल बैंकले यसअघि पनि सन् २०१०, २०२०, २०२१, २०२२, र २०२४ मा विभिन्न विधामा युरो मनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित भइसकेको छ।