काठमाडाैं। ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दिपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्वलाई जोड दिँदै नेपाल र थाईलैंडको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि भोजन लिपि स्वाद कार्यक्रमको महत्त्वलाई उच्च मूल्यांकन गरे।
उनले भोजन लिपि स्वाद कार्यक्रमको छैठौं संस्करणको उद्घाटन समारोहमा भने, "थाई खाना नेपालीलाई र नेपाली खाना विदेशीलाई परिचित गराउनु हाम्रो साझा जिम्मेवारी हो। यसले आपसी मित्रता र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ, साथै थाईलैंडसँगको हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।"
मन्त्री खड्काले यस कार्यक्रमलाई नेपाल र थाईलैंड बीचको खाद्य संस्कृति र आपसी मित्रता थप प्रगाढ बनाउन एक महत्त्वपूर्ण कदम मानेका छन्। उनले थपे, "नेपालमा पनि सुरक्षित र स्वस्थ भोजन प्रबर्द्धन गर्नका लागि हामी निरन्तर प्रयासरत छौं। नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्दा त्यसको परिष्कृत रूपले विदेशी बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्छ।"
कार्यक्रममा रॉयल थाई दूतावास, काठमाडौंका राजदूत माननीय सुवापोंग सिरिसोर र कार्यक्रमका अध्यक्ष गणेश ढकालले पनि नेपाली र थाई खाद्य संस्कृति बीचको सम्वन्धलाई बढावा दिनको लागि यस्तो आयोजनालाई समर्थन गर्नुपर्ने बताए।
कार्यक्रमको संयोजन भोजन लिपि स्वाद अभियानका संयोजक देवी सपकोटाले गरेका थिए, र शेफ घनश्याम कंडेल र उनको टीमले तयार पारेका विभिन्न थाई र नेपाली परिकारहरूले आगन्तुकहरूको मन जिते। आगन्तुकहरूले समृद्ध संस्कृतिका स्वाद अनुभव गर्दै कार्यक्रमको आनन्द लिएका थिए।