काठमाडाैं। ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने योजना बनाएर आवेदन माग गरेको थियो। तर, सो ट्युबवेलका लागि २४ हजार ७७४ किसानले आवेदन दिए।
मन्त्रालयले सातदिने सूचना प्रकाशित गरी ट्युबवेल प्राप्त गर्न चाहने किसानले कम्तीमा दुई बिघा खेतीयोग्य जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा बुझाउनुपर्ने प्रावधान राखेको थियो।
किसानको अत्यधिक आवेदन परेपछि बजेट अपुग हुने देखिएकाले कार्यक्रम नै स्थगित गरिएको जनाइएको छ। स्यालो ट्युबवेलका लागि सबैभन्दा बढी धनुषाका चार हजार ६४५ किसानले आवेदन दिएका छन्।
त्यसैगरी, रौतहटबाट तीन हजार ९२२, सप्तरीबाट तीन हजार ८१, पर्साबाट तीन हजार ४४, सिरहाबाट दुई हजार ७४४, बाराबाट दुई हजार ३९१, महोत्तरीबाट दुई हजार ५८५ र सर्लाहीबाट दुई हजार ३६२ गरी जम्मा २४ हजार ७७४ जनाले सम्बन्धित कृषि ज्ञान केन्द्रमा आवेदन दिएका छन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत अभिनाश झाले आवेदन अपेक्षाभन्दा तीनगुणा बढी आएकाले बजेटले नभ्याउने हुँदा हाललाई कार्यक्रम स्थगित गरिएको जानकारी दिए।