काठमाडौं। बाैद्धमा सञ्चालित पाँचतारे लक्जरी होटल हायात रिजेन्सीको दुई चरणमा रेनोभेट हुने भएको छ। सञ्चालनमा आएको करिब २६ वर्षपछि पुरै कोठा नयाँ बनाउन लागिएको तारागाउँ रिजेन्सी होटल्स सञ्चालक समिति सदस्य सुरेशलाल श्रेष्ठले जानकारी दिए।
‘अहिले होटलका कोठाहरु रेनोभेटका लागि डिजाइन तयार पारेर हायातबाट एप्रुभको अन्तिम तयारीमा पुगेको छ,’ सञ्चालक श्रेष्ठले भने ‘डिजाइनमा केही परिवर्तन गर्न नपरे असोजदेखिनै पुन:निर्माण सुरु हुन्छ।’
सञ्चालक श्रेष्ठका अनुसार हायातले डिजाइनमा केही परिवर्तन गर्नका लागि तीन महिनाभित्रै काम सुरु गर्ने गरी आवश्यक तयारी थालेकाे छ। हाल हायातमा २८० वटा कोठा रहेका छन्।
ती सबै कोठालाई भत्काएर पुनः नयाँपन दिने तयारी होटल सञ्चालकहरुको रहेको छ। बढ्दो प्रतिस्पर्धालाई आत्मासाथ गर्दै होटललाई नयाँ रुप दिन दुई चरणमा कोठाहरु पुन:निर्माण गरिने सञ्चालक श्रेष्ठले जानकारी दिए।
पहिलो चरणमा १४० वटा कोठा पुन:निर्माण हुनेछ। साेही चरणमा काम गर्न कम्तीमा १० महिनाको समय निर्धारण गरिएको छ। यस्तै, दोस्रो चरणमा भने ६ देखि ७ महिनाभित्रै सक्ने गरी काम गर्न लागिएको उनको भनाइ छ।
‘दुई चरणमा काम हुने भएकोले होटलमा बस्ने पाहुनाहरुले होटलमा के भइरहेको छ भन्ने जानकारी समेत पाउदैनन्,’ सञ्चालक श्रेष्ठले भने, ‘भित्रभित्रै काम गरिने र २४सैं घण्टा काम हुने भएकोले दुई वर्षभित्रमा पूर्ण रुपमा चलाउने योजना हामीले बनाएका छौं।’
होटलका कुनै कोठा वा रेस्टुरेन्टको कुनै डिजाइन परिवर्तन वा संरचना थप गर्दा हायातको अनुमति अनिवार्य हुन्छ। अर्थात, व्यवस्थापनको रुपमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त हायात रिजेन्सी रहेकोले उसको अनुमति र सुझावअनुसार अगाडि बढ्नुपर्ने हुन्छ।

स्तरोन्नतिपछि २८० वटै कोठाको स्वरुप परिवर्तन हुनेछ। २५ वर्षअघिका सामान पुराना भइसकेकोले नयाँ राखिने छ भने अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त लक्जरी सामान राख्ने तयारी होटलको छ। कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट स्तरोन्नति गर्दा करिब ३ अर्बभन्दा बढी लगानी थप हुने अनुमान सञ्चालक समितिको छ। डिजाइन पूर्ण रुपमा पास नभइसकेकोले अहिलेनै कति लागत लाग्छ भन्ने निश्चित भई नसकेको उनले बताए।
‘हामी कोठाको मूल भित्ता बाहेक सबैनै नयाँ बनाउने भएकोले खर्च राम्रै लाग्छ,’ सञ्चालक श्रेष्ठले भने, ‘पुरानो होटलमा नयाँ रुमको सुविधा दिने हाम्रो लक्ष्य हो, कोठाको साइज भने बढ्दैन।’
होटल मर्मत सम्भार भए पनि पूर्ण रुपमा बन्द नगर्ने भएको छ। होटल बन्द हुँदा नकारात्मक सन्देश जाने भएकोले बुकिङमा पूर्ण रुपमा नलिएपनि ५० प्रतिशत अर्थात १४० वटा कोठालाई मात्र पुग्ने गरी बुकिङ लिने योजना बनाएको उनले बताए।
३०० रोपनी क्षेत्रफलमा फैलिएको होटलमा एउटा प्रेसिडेन्टल, एउटा एक्जुकेटिभ गरी ८ स्वीट्स, ४२ क्लब रुम, ३८ भ्यू रुम र बाँकी १९२ वटा हायात स्ट्यान्डर्ड रुम छन। २०५२ पुस १२ मा शिलन्यास गरेर २०५३ साल माघ १९ देखि निर्माण सुरु भएको होटल २०५७ असोजमा उद्घाटन गरिएको थियो।