काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा दुई खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात भएको हो।
अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार निर्यात हुनेमा सबैभन्दा बढी भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढ्को भने पाम तेल, जिड्ढ सिट, जुस, अदुवा, तयारी पोसाकलगायतका वस्तुको निर्यात भने घटेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो।
निर्यातर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, मेची, नेपालगञ्ज , रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटामा १.० प्रतिशतले कमी आएको थियो। समीक्षा वर्षमा निर्यात आयात अनुपात १५.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपान ९.६ प्रतिशत रहेको थियो।
समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १८ खर्ब एक अर्ब १५ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात १५ खर्ब १ खर्ब ७६ करोड बराबरको थियो।
