काठमाडाैं। नेपालका सूचना प्रविधि (आईटी) कम्पनीहरूले उत्पादकत्व र कामको गुणस्तर बढाउन एआई प्रविधिको प्रयोगलाई तीव्रता दिएको आईटी उद्यमीहरूले बताएका छन्। पछिल्लो समय आईटी कम्पनीहरूले डेभलपरहरूको कार्यक्षमता चुस्त राख्न विभिन्न एआई टुल प्रयोग गर्दै आएका छन्, जसका लागि प्रतिडेभलपर मासिक २० देखि ३०० अमेरिकी डलरसम्म खर्च भइरहेको एक आईटी उद्यमीले बताएका छन्।
एआई प्रविधिको व्यावसायिक प्रयोग निःशुल्क वा सस्तो छैन। नेपाली कम्पनीहरूले साधारण 'पेड एकाउन्ट'का लागि न्यूनतम २० डलरदेखि लिएर अत्याधुनिक एआई टुलका लागि प्रतिडेभलपर मासिक २०० देखि ३०० डलरसम्म लगानी गरिरहेका छन्। आईटी उद्यमीहरूले कति परिमाणमा एआई टुल प्रयोग गर्छन् भन्ने सम्बन्धमा अहिलेसम्म कुनै औपचारिक अध्ययन वा यकिन तथ्यांक नभए पनि, औपचारिक र अनौपचारिक कुराकानीका आधारमा माथिको तथ्य बाहिर आएको एक अधिकारीले क्यापिटल नेपाललाई बताए।
विकसित देशहरूको तुलनामा यो खर्च निकै कम भए पनि, औसतमा प्रतिमहिना २० देखि २०० डलरको दायरामा रहेर एआई प्रविधिमा नियमित लगानी भइरहेको छ। साथै, एक दक्ष आईटी विद्यार्थीलाई सुरुवातमा २५ हजारदेखि ४५ हजार रुपैयाँसम्म तलब दिने गरिएको छ, जुन कम्पनीको प्रकृति र क्षमताअनुसार फरक-फरक हुने गरेको एक आईटी उद्यमीले बताए।
विश्वव्यापी रूपमा एआईका कारण कर्मचारी कटौती भइरहँदा, नेपालका लागि भने यो एउटा सुनौलो अवसर बनेर आएको छ।
यो खर्चको आकार कम्पनीको प्रकृति र ग्राहकको क्षमतामा भर पर्ने गरेको उनको भनाइ छ। उद्योगीहरूले यस खर्चलाई मानव संशाधनको तलबजस्तो अतिरिक्त वित्तीय भार नभई, कामको गुणस्तर र कार्यदक्षता बढाउनका लागि गरिने एउटा अत्यावश्यक पूरक लगानीका रूपमा बुझ्ने गरेको उनले बताए।
यसैबीच, विश्वव्यापी रूपमा एआईका कारण कर्मचारी कटौती भइरहँदा, नेपालका लागि भने यो एउटा सुनौलो अवसर बनेर आएको छ। विकसित देशहरूको तुलनामा नेपालको व्यवसाय सञ्चालन तथा डेलिभरी लागत (लो कस्ट अफ अपरेसन) निकै कम छ। जबसम्म नेपालमा दक्ष जनशक्ति भर्ना र परिचालनको लागत अन्तर्राष्ट्रिय बजारको तुलनामा प्रतिस्पर्धी र सस्तो रहन्छ। तबसम्म विश्वबजारबाट नेपालमा सफ्टवेयर विकासका काम आउटसोर्सिङ हुने सम्भावना र अवसर उत्तिकै बलियो रहने आईटी विज्ञ तथा उद्यमीहरूको बुझाइ छ।
केही वर्षयता एआईको प्रभावले विश्वबजारलाई तरंगित बनाइरहेको बेला नेपाली सूचना प्रविधि (आईटी) क्षेत्र संक्रमणकालीन चरणमा रहेको नासआईटीका अध्यक्ष गौरव पाण्डेले बताए। विकसित देशका कम्पनी तथा उद्योगहरूले एआईलाई पूर्ण रूपमा प्रयोग गर्दै आए पनि, नेपालमा यसको प्रयोग कसरी प्रभावकारी ढंगले आत्मसात् गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको अध्यक्ष पाण्डेले बताए।
हाल यसको सञ्चालन लागत निकै महँगो छ र आगामी तीनदेखि चार वर्षसम्म यो उच्च नै रहने देखिन्छ।
नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्का प्रमुख अजित विक्रम शाहका अनुसार, नेपालका विश्वविद्यालयबाट डिग्री लिएर निस्कने नयाँ स्नातकहरूमा सैद्धान्तिक ज्ञान राम्रो भए पनि व्यावहारिक सीपको कमी हुनु मुख्य चुनौती हो। अत्यन्त उच्च तहको प्राविधिक क्षमता भएका जनशक्तिको अभावका कारण कतिपय कम्पनीले भारतलगायतका देशहरूबाट सिनियर कन्सल्टेन्ट ल्याउनुपर्ने बाध्यता अझै कायम छ। यही खाडल पुर्न नेपाली कम्पनीहरूले कलेजबाट भर्खर उत्तीर्ण भएका युवाहरूलाई भर्ना गरी इनहाउस र बाहिरी तालिमका माध्यमबाट क्षमता विकास गर्ने रणनीति अपनाएका छन्।
यसरी भर्ना गरिएका नयाँ जनशक्तिलाई सिकाउन र उनीहरूको सिकाइ अवधि छोट्याउन अहिले एआई औजारहरूले सहयोगी भूमिका खेलिरहेको शाहको बुझाइ छ। हाल यसको सञ्चालन लागत निकै महँगो छ र आगामी तीनदेखि चार वर्षसम्म यो उच्च नै रहने देखिन्छ, जसका कारण मानव संसाधनको माग र सान्दर्भिकता कायम रहने उनले बताए।
अर्कोतर्फ, नासआईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार एआई आफैँमा सहयोगी साधन वा औजार मात्र हो, यसले मानिसलाई पूर्ण रूपमा विस्थापित गर्न सक्दैन र त्यस्तो सोच पनि राखिएको छैन। तर वर्तमान सन्दर्भमा चुनौती यहाँनेर देखिन्छ- भविष्यमा जसले एआई टुल चलाउन जान्दैन, त्यस्ता जनशक्तिलाई बजारमा टिक्न निकै गाह्रो हुनेछ। यसको विपरीत, जसले एआई टुललाई राम्रोसँग प्रयोग गरेर आफ्नो उत्पादकत्व बढाउन सक्छन्, उनीहरूका लागि रोजगारी र वृत्ति विकासको उत्कृष्ट अवसर रहने अध्यक्ष पाण्डेले बताए।
हाल यसको सञ्चालन लागत निकै महँगो छ र आगामी तीनदेखि चार वर्षसम्म यो उच्च नै रहने देखिन्छ।
अहिले केही वर्षयता एआईका कारण विश्वव्यापी रूपमा कर्मचारी कटौती भइरहेको भए पनि, नेपालको न्यून व्यवसाय सञ्चालन तथा डेलिभरी लागत नेपालका लागि एउटा ठूलो अवसरको रूपमा रहेको उनीहरूको भनाइ छ। जबसम्म नेपालमा जनशक्ति भर्नाको लागत विकसित देशहरूको तुलनामा सस्तो रहन्छ, तबसम्म अन्तर्राष्ट्रिय बजारमा नेपालका लागि सफ्टवेयर विकासका अवसरहरू खुला रहने उनीहरूको बुझाइ छ।
त्यस्तै, एआई प्रणाली सञ्चालन गर्न निकै ठूलो परिमाणमा ऊर्जाको आवश्यकता पर्दछ र यसको व्यवस्थापन विश्वव्यापी रूपमा चुनौतीपूर्ण बन्दै गएको छ। हाल यसको सञ्चालन लागत निकै महँगो छ र आगामी तीनदेखि चार वर्षसम्म यो उच्च नै रहने देखिन्छ, जसका कारण मानव जनशक्तिको माग र सान्दर्भिकता तत्काल नघट्ने तथा देशभित्र उपलब्ध जलविद्युतजस्ता स्वच्छ ऊर्जालाई एआई प्रणाली सञ्चालनमा उपयोग गर्ने रणनीति बनाउनुपर्ने शाहले बताए।