काठमाडौं। हिन्दु नारीले हरितालिका तिज यतिबेला ग्रामीण क्षेत्रदेखि सहरबजारसम्म धुमधामले मनाइरहेका छन्। नारीले तिजमा माइतीघर गएर मिष्ठान भोजन खाने, रातै साडी, गहना, पोतेमा शृंगारिएर नाचगान गर्ने सांस्कृति चलन रहिआएको छ।
तिज पर्वले संस्कृति र पारिवारिक मिलनको सूत्र मात्रै बाँध्दैन, मुलुकको अर्थतन्त्रलाई पनि चलायमान गराउँछ। तिजमा खरिद हुने गरगहना, लुगाफाटोका कारण बजार दौडिने गर्छ। तिज चेलीबेटीबीच दुःख साटासाट र आत्मीय प्रेम बढाउने पर्व पनि मानिन्छ। तिजमा बजार चलायमान बनाउने वस्तु निम्न छन्ः
चुरापोते
हरितालिका तिजमा विवाहित र अविवाहित नारी रातै चुरापोते लगाएर चिटिक्क पर्ने गर्छन्। तिजमा चुरापोते लगाउँदा श्रीमान् आयु बढ्ने धार्मिक विश्वास छ। सिन्दुर पोते र चुरा लगाउँदा नारीको सौभाग्य झल्किने ठानिन्छ। तिजका बेला चुरा, पोते र सिन्दुरको बिक्री बढी हुने हुँदा बजार चलायमान बन्ने गर्छ। नेपाली बजारमा एउटा पोतेको न्यूनतम मूल्य सय रुपैयाँँदेखि हजारौं रुपैयाँ पर्ने चुरापोते पाइन्छन्।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २९ करोड ४६ लाख रुपैयाँ बराबरको कुल ६ लाख ५ हजार केजी पोते मात्र आयात भएको हो। त्यसमा चीनबाट मात्रै ५ लाख २९ हजार केजी अर्था्त २३ करोड ४२ लाखको पोते आयात भएको छ। विभागका अनुसार गत वर्ष नेपालबाट १ करोड ९ लाख ५४ हजार रुपैयाँ बराबरको ६६५ किलो पोते निर्यात भएको छ।
लुगाकपडा बजार
तिजमा नारीले नयाँ कपडाका रुपमा सारी, ब्लाउज किन्ने गर्छन्। महिलाले नयाँ फेसनका साडी किन्ने गर्छन्। हरेक वर्ष फेसन परिवर्तन हुँदा कपडा बजार चम्किने गर्छ।
पछिल्लो समय लेहँगादेखि कुर्ता सुरुवाल लगाउने चलन बढेकाले तिजका बेला ५० प्रतिशत यस्ता लुगाकपडा बिक्री हुने व्यवसायी बताउँछन् ।
सौन्दर्य सामग्री बजार
भन्सारको तथ्यांकअनुसार नेपाला मेकअपका सामानको वार्षिक कारोबार ३० अर्ब रुपैयाँ बराबरको हुने गरेको छ। तिजमा निकै ठूलो कारोबार हुने गरेको छ।
सिन्दुर, लाली, विभिन्न क्रिमलगायत मेकअप सामग्रीको बिक्री बढी हुने गर्छ। अझ पछिल्लो समय पार्लरमै गएर मेकअप गर्ने क्रम सहर बजारमा मात्र नभई गाउँमा समेत विस्तार भइसकेको छ।
गरगहना
हरितालिका तिजको समय महिला सुनका गहना लगाएर चिटिक्क पर्ने गर्छन्। तिजमा नारीहरुले रातो सारी, रातो ब्लाउज, घाँटीमा सिक्री, पाउजु, औंठी, बालालगायत पहिरिएर रमाइलो गर्छन्।
नेपाली बजारमा २ लाख वरपर रहेको सुनको मूल्य अकासिएपछि आर्थिक अवस्था कमजोर भएकाले भने नयाँ गरगहना किन्न सक्ने हैसियत धकेलिएको छ।
नेपाली बजारमा करिब २२ हजार सुन व्यवसायी रहेका छन् भने दैनिक २० किलो सुन खपत हुने गरेको तथ्यांक सुनचाँदी व्यवसायी महासंघको छ। तीजमा सुनबाहेक चाँदी, हीरा, मोती र प्लेटिनमका गहनाको पनि राम्रै कारोबार हुने गरेको छ।
दुग्धजन्य पदार्थको बजार
हरितालिका तिजमा दर खाने चलन रहेको हुँदा घ्यू खपत बढी हुने गर्छ। पछिल्लो समय माइतीघर गएका चेलीले माछामासु खाने चलन रहे पनि कतिपयले दही, दूध, दहीको पनिर र खिर खाने हुँदा यसको खपत बढ्ने गरेको व्यवसायी बताउँछन्। हाल देशभर दैनिक ७२ लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको तथ्यांक छ।
मिठाई र फलफूल
हरितालिका तिजमा विभिन्न मिष्ठान परिकार बिक्री बढ्ने गर्छ भने फलफूलको समेत माग ह्वात्तै बढ्छ। यसले पनि बजार चलायमान बनाउन सघाउँछ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक करिब १५ अर्बको फलफूल आयात हुने गरेको छ।
यस्तै, चाडवाडका बेला मिठाई खपत धेरै हुने गर्छ। तिजलगायत हरेक चाड पर्वमा विभिन्न किसिमका रोटी र मिठाई प्रयोग गरिन्छन्। मिठाई र रोटी बनाउन आवश्यक पर्ने उपभोग्य वस्तु खरिद गर्दा बजार बुम हुने गर्छ।
यस्तै, हरितालिकामा तिज गीतले बजार पिटेको हुन्छ। तिजलाई लक्षित गर्दै हरेक वर्ष ठूलो संख्यामा गीत संगीत बजारमा ल्याइने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर बताउँछिन्। एउटा गीत बजारमा ल्याउन ४–५ लाखदेखि ८–१० लाख रुपैयाँसम्म लगानी हुने गरेको व्यवसायी बताउँछन्।
तिजमा पूजा सामग्रीको बजार पनि बढ्ने गर्छ। तिजको दिन विभिन्न शिवालयमा चढाइने फूलप्रसाद खरिद बढी हुँदा पूजा सामग्रीको बजार उक्सिने गर्छ।