काठमाडौं। गत जेठ २९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको सोल पावरमा अग्रणी सौर्य उर्जा कम्पनी पियोर इनर्जी लिमिटेडले २६ प्रतिशत सेयर खरिद गरेको छ।
पियोर इनर्जीले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका दुई लाख ६० हजार कित्ता खरिद गरिएको छ।
गत आर्थिक वर्षमा नाफामा गएसँगै पियोरले सोल पावरमा सेयर लगानी गरेको हो। दुई वर्षअघि सौर्य उर्जाको व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीले आर्थिक वर्ष २०८१/८२ मा तीन करोड १९ लाख ७९ हजार खुद नाफा कमाएको छ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोढ ९२ लाख रुपैयाँ पुगेको छ। एक करोड ५१ लाख रुपैयाँ अन्य आम्दानी पनि गरेको वित्तीय विवरणमा उल्लेख छ। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनी एक करोड ७५ लाख ८० हजार रुपैयाँ खुद घाटामा थियो।
-1756274651.jpg)
पियोरले बाँकेमा १०-१० मेगावाट क्षमताका दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० पुसदेखि व्यापारिक उत्पादन गरिरहेका छन्।
गोल्यान समूहअन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो। नेपाल विद्युत प्राधिकरण र पियोर इनर्जीबीच २०७८ मंसिर १२ मा पिपिए भएको थियो।
कम्पनीको वार्षिक वित्तीय विवरणले विद्युत बिक्रीको आम्दानी बढेको कारण कम्पनी नाफामा गएको देखिन्छ। गत वैशाखमा आइपिओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ।
सोल पावरले पाँच वटा सोलार परियोजना निर्माण गरिरहेको छ। यसअन्तर्गत कन्चनपुरमा १५ मेगावाटको कृष्णपुर सोलार परियोजना, बर्दियामा २५ मेगावाटको भुरिगाउँ १ सोलार परियोजना, बाँकेमा ३० मेगावाटको न्यू नेपालगन्ज सोलार परियोजना र नवलपरासीमा १५/१५ मेगावाटको परासी सोलार परियोजना तथा सुनवल सोलार परियोजना सञ्चालनमा रहेका छन्।
नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४-२५ अनुसार सोल पावरअन्तर्गतका पाँच वटै परियोजनाको गत जेठ २९ गते विद्युत खरिद विक्री सम्झौता भएको छ।