काठमाडौं। भारतमा परीक्षाका प्रश्नपत्र बाहिरिएका घटनामा संलग्नलाई कारबाही र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनशन बसेका भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन तोडेका छन्।
बिहीबार अबेर राती सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै ५९ वर्षीय वाङचुकले विभिन्न सर्तमा भएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गरेको बताएका हुन्। उनले ती सर्तबारे छुट्टै भिडियोमार्फत जानकारी दिने बताएका छन्।
प्रश्नपत्र बाहिरिनेक्रम रोक्न कडा कानुन ल्याइने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मार्फत भिडियो सम्बोधन सार्वजनिक गरेलगत्तै वाङचुकको यो घोषणा आएको हो। मोदीले प्रश्नपत्र चुहावट गराउने कार्यमा संलग्नविरुद्ध फास्ट–ट्रयाक अदालतमार्फत कारबाही अघि बढाउने उपायमा सरकारले काम गरिरहेको र आज मन्त्रिपरिषदमा यस विषयमा छलफल हुने बताएका छन्।
भिडियो सम्बोधनमा शिक्षामन्त्री प्रधानको नाम नलिई मोदीले प्रश्नपत्र बाहिरिने घटनालाई लाखौं विद्यार्थीका लागि अत्यन्तै पीडादायी विषय भएको बताएका छन्।
मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि लाखौं विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। सोही घटनामा प्रधानको राजीनामाको माग गर्दै आन्दोलनरत युवा नेतृत्वको ककरोच जनता पार्टी (सीजेपी) प्रति ऐक्यबद्धता जनाउँदै वाङचुक जुन २८ देखि अनशनमा बसेका थिए।
यो आन्दोलन सन् २०२४ मा तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएयता प्रधानमन्त्री मोदीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
आन्दोलनअन्तर्गत हजारौँ सीजेपी समर्थकले नयाँ दिल्लीको जन्तर–मन्तरस्थित विरोधस्थल तथा देशका विभिन्न सहरमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने र आन्दोलनमा प्रहरी दमनविरुद्ध छानबिन हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका हुन्।