काठमाडौं। अविरल वर्षाका कारण देशभर नौ वटा सडकमा आवतजावत पूर्ण बन्द भएका छन्। सडक विभागद्वारा जारी गरेको सूचनाअनुसार बाढी, पहिरोले यी सडक अवरुद्ध भएका हुन्। यस्तै, १५१ सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ।
सूचना अनुसार मुलुकभरका ३७१ सडकमध्ये २११ सडक खण्ड पूर्ण खुलेका छन्। सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए।
उनले भने, ‘कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारणमर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ।’
विभागका अनुसार असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीले गल्छी, त्रिशुली-मैलुङ-स्यापुबेशी-रसुवागढी सडक अझैसम्म पूर्ण अवरुद्ध छ। यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेकाले कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्ण अवरुद्ध छ।
तातोपानी-टिमुरेस्थित ठोरी-रसुवागढी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ।
विभागका अनुसार पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर-दक्षिण कोशी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा-मुलघाट-माझीटार-अमरापुर डाँडा-गणेशचोक सडक खण्ड अवरुद्ध भएको विभागले जनाएको छ।
तातोपानी-टिमुरेस्थित ठोरी-रसुवागढी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ। विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु-मरिम सडकखण्ड पनि पूर्ण अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ।
‘रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,’ विभागको तथ्यांकमा उल्लेख छ, ‘दैलेखको सुर्खेत-तल्लो डुगेश्वर-जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुरु हुने काम भइरहेको छ। यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडक खण्ड पूर्ण अवरुद्ध भएको छ।’