काठमाडौं। पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथाकृति ‘सत्यम्’को शनिबार विमर्श सम्पन्न भएको छ। पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा वरिष्ठ साहित्यकार तथा समालोचकहरूले एक कार्यक्रमबीच समीक्षा एवम् टिप्पणी गरे।
वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.राज भट्टराईको सभापतित्व तथा डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आथित्यमा भएको विमर्श कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वाह गरेका थिए। लेखक तथा पत्रकार राजेश खनालले सञ्चालन गरेको कार्यक्रममा १५ कथा सङ्ग्रहित कृतिमा डा. अशोक थापा, महेश पौड्याल, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले समालोचनात्मक टिप्पणी गरेका थिए।
समालोचक डा. थापाले चुन्कीको रहस्य, छुटेका पानीहाँस र क्रमु कथामा बोल्दै ‘चुन्कीको रहस्य’ फरक भाषाबाट कथानक सुरु गरिएकोले यसले पाठकलाई कथाभित्र प्रवेश गर्न सुरुमै बाधा पार्न सक्ने चुनौती देखिएको बताए। ‘क्रमु’मा बाहुन केटो र गुर्सेनी केटीबीचको प्रेम जातकै कारण विवाहमा परिणत हुन नसकेको यथार्थलाई कल्पनाभन्दा माथि उठेर सफल प्रेम देखाउन सकेको भए उत्कृष्ट हुने सुझाएका थिए। ‘छुटेका पानीहाँस’मा प्रमुख पात्रलाई कुनै गन्तव्यमा नपुर्याइ रहस्यमै छोडिँदिँदा पाठकले खल्लो अनुभूति गर्न सक्ने पाठकीय अनुभूति सुनाएका थिए।
अर्की समालोचक डा। ढुङ्गानाले ‘स्वप्नलोक’, ‘प्रेत–यान’, ‘चराहरू उडे’ र ‘सौँराई’मा आफ्ना भनाइ राख्दै ‘सत्यम्’ नामजस्तै कथाहरू यथार्थपरक रहेको बताइन्। उनले माओवादी विद्रोहले जन्माएका पीडा र आघात कथामा प्रस्तुत भएको भन्दै कथाकारले आफू पुरुष भइकन विद्रोही युवतीको पीडादायी घटनालाई भित्रसम्म प्रवेश गरेर उजागर गर्न सफल भएको बताइन।
समालोचक टेकनारायण ढकालले राँकेभूतको लीला, मनफूल झरेपछि र ‘हिउँखोलाको आलाप’माथि आफ्ना धारणा राखेका थिए। देशमा भएको माओवादी सशस्त्र द्वन्द्वको पीडा भोग्ने आफू पनि एक पीडित भएको स्मरण गर्दै उनले कृतिकारले कथालाई न्याय गरेको बताए।
आख्यानकार तथा समालोचक खतिवडाले ‘टाउको’, ‘रित्तो गुँड’ र ‘बागियान’ कथामा आफ्नो समीक्षा राखेकी थिइन्। युद्धको पृष्ठभूमिमा आधारित कथामा आञ्चलिकता, स्थानीय बोलिचालीले कथाहरूलाई उत्कृष्ट बनाएको भन्दै परिवेशको वर्णनमा कथाकार बढी हाबी भएको पक्ष औँल्याइन्। अर्की टिप्पणीकार तिमल्सिनाले ‘ऊ’ र ‘आँसुको लोरी’मा आफ्ना पाठकीय अनुभूति राखेकी थिइन्।
टिप्पणीकारहरूको समीक्षा सुनेपछि समालोचक पौड्यालले देश र समाजमा खण्डित हुँदै गएको सत्य ‘सत्यम्’ले देखाएको विश्लेषण गरे। ‘माओवादी आन्दोलन, २०६२/६३ को जनआन्दोनल तथा मधेश आन्दोलन सुरु गर्दा जे कुरालाई सत्य भनेर लागियो, त्यो अहिले असत्य सावित हुँदै गएको विषयलाई कथाले व्यङ्ग्यात्मकरूपमा उठान गरेको छ,’ उनले विश्लेषण गरे, ‘हिजो जे असत्य ठान्यौँ, अहिले त्यही सत्य लागेको विषय पनि छ।
कथा लेखनका क्रममा कथाकारले राजनीतिक वाद वा पक्षधरता देखिने विषयमा जोगिन सक्नुपर्ने पौड्यालले औंल्याए। देशको ऐतिहासक पृष्ठभूमिका घटनाक्रमलाई तत्तत् समयै टेकेर कथामा बुनिएको टिप्पणी सहित उनले भने– यसले वियोगीलाई उम्दा लेखकका रूपमा स्थापित गरेको छ।
कृतिकारले कृतिमा आफूले ६० प्रतिशत देखे–भोगेकै घटनाका आधारमा कथा लेखेको र बाँकी कलात्मकता थपिएको बताए। पहिलो संस्करणमा देखिएका त्रुटिलाई आगामी संस्करणमा ध्यान दिने भन्दै उनले कृतिमाथि प्राप्त सल्लाह–सुझव, टिप्पणी तथा मार्गनिर्देशलाई आत्मसात् गरेर अघि बढ्ने भनाइ राखे।
प्रमुख वक्ता प्रा.डा. कोइरालाले ‘सत्यम्’भित्र माओवादी द्वन्द्वका अभिघात घटना, २०६२र६३ को जनआन्दोलन, मधेश आन्दोलन, पर्यावरण, विज्ञान विषय तथा हिमाल, पहाड र तराईको पृष्ठभूमि समेटिएको बताए। त्यस्तै, आञ्चलिकता, वैचारिक, कारुणिक, स्वैरकल्पना, सामाजिक यथार्थ जस्ता विशेषताले कथालाई सशक्त बनाएको उनको समीक्षा थियो।
कृतिमा काव्यिक भाषाशैली बढी प्रयोग गरिएको हुँदा त्यस्तो पक्ष कम भएको भए प्रभावकारी हुने भन्दै उनले पात्रहरूले अघि बढाइरहेको कथानकमा लेखकको व्याख्यात्मक हस्तक्षेप बढी देखिएको टिप्पणी गरे। केही ससाना सुधारका विषयबाहेक कथासङ्ग्रह उत्कृष्ट रहेको र यस्तो लेखनले आफूलाई चकित पारेको अनुभूति सुनाए।
कार्यक्रमका प्रमुख अतिथि डा। भट्टराईले ‘सत्यम्’मा समेटिएका कथाले उत्कृष्ट लेखनको नमुना प्रस्तुत गरेको बताए । ‘लेखनको काव्यिक शैलीले कथालाई छुट्टै पहिचान दिएको छ,’ उनले टिप्पणी गरे, ‘यस्ता उम्दा प्रतिभावान लेखकले आगामी दिनमा अझ सशक्त साहित्यिक कृतिहरू पाठकमाझ ल्याउनुपर्छ ।’ ‘हिउँखोलाको आलाप’ कथामा निबन्धात्मक शैली हावी भएको भन्दै आगामी लेखनमा यस्ता पक्षमा विचार पुर्याउन उनले सुझाव दिए ।
कथामा गरिएको ‘प्रवेशिन्थे’, बुर्कुसिनु, ‘लन्ठेभारी’ जस्ता दर्जनौँ नयाँ शब्दको प्रयोगले कृतिलाई अझ रोचक बनाएको भट्टराईको विश्लेषण थियो । विगतमा मदन पुरस्कारको सूचीमा परेका कृतिको हाराहारी उभिन सक्ने सामर्थ्य ‘सत्यम्’मा रहेको उनको निर्क्योल थियो ।
कार्यक्रमको समापन गर्दै सभापति प्रा।डा। भट्टराईले कथाकार वियोगीको लेखनशैली र शक्ति देखेर आफू ज्यादै प्रभावित भएको खुसी व्यक्त गरे । ‘यस्तो सशक्त प्रतिभा कथामा मात्रै खुम्चिनु हुन्न,’ उनले सुझाए, ‘सिर्जना क्षमता विस्तार गर्दै उपन्यास लेखनतिर लाग्नुपर्छ ।’ कृतिकारभित्र उपन्यास सिर्जना गर्न सक्ने क्षमता रहेको पनि उनको निचोड थियो ।
कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, व्यङ्ग्य कवि लक्ष्मण गामनागे, साहित्यकार एवम् पत्रकार त्रिभुवनचन्द्र वाग्ले, साहित्यिक पत्रकार विमल भौकाजी, साहित्यकारहरू प्रा।डा। अन्जना वस्ती, प्रमोद प्रधान, विजय हितान, हरि गौतम, अनिता पन्थी, जयराम तिमल्सिना, झम्क तिमल्सिना कविहरू महेश कार्की ‘क्षितिज’, मोहराज शर्मा लगायतको उपस्थिति थियो ।