गण्डकी। इँटा र काष्ठकलाले सजिएको फल्चा। सारंगी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार। साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो। ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसलाई फल्चामा जुटाएको थियो। मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति सुन्न र हेर्न दर्शकहरु लालयित देखिन्थे।
स्वरसम्राट नारायणगोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो। बर्सेनि मंसिर १९ गते नारायणगोपाल र मंसिर ६ गते झकलमानको स्मृति दिवस मनाउने गरिन्छ। पोखराको रेडियो अन्नपूर्णले झलकमान गन्धर्व सारंगी पाठशालासँगको सहकार्यमा मौलिक स्वरुपमा यो कार्यक्रम गरेको हो।
पाठशालाका बालकलाकारले खचाखच दर्शकमाझ नारायणगोपाल र झलकमानका गीत सुनाए। उनीहरुको गायन र वाद्यवादन कला हेरेर दर्शकदीर्घाले ताली र हौसला दिएका थिए।
सारंगी र मादलको धुनमा स्वरस्रमाट नारायणगोपालका गीत पृथक सुनिएका थिए। उनीहरुले नारायणगोपालका ‘केही मिठो बात गर...’लगायत चर्चित गीत सुनाए। ‘आमाले सोध्लिन् नि...’बाट गाउन सुरु गरेका बालकलाकारले झलकमानका ‘रामराम राम गए वनैमा...’, ‘राधा पियारीको...’को आदि गाए।
बालकलाकार अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुति राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिए।
नेपाली संगीत जगत्का दुई मुध्र्यन्य प्रतिभाको स्मृति दिवससँगै रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए।
कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शुभारम्भ गरेका थिए।
सारंगी पाठशालाका प्रतिभाको सम्मानसहित थप अवसर सिर्जना गर्ने प्रयास स्वरुप कार्यक्रममा वडा कार्यालयले पनि सहकार्य गरेको वडाध्यक्ष मर्सानीले बताए। उनले कला, संगीत र साहित्य श्रीवृद्धिका लागि हातेमालो गर्न महानगरपालिका र वडा कार्यालय सधैं तयार रहेको जनाए।
कवि एवं संस्कृतिकर्मी श्रेष्ठले गायक नारायणगोपाल र झलकमानको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए। कार्यक्रममा कला तथा संगीतप्रेमी दर्शकको बाक्लो उपस्थिति थियो।
रेडियो अन्नपूर्णले बर्सेनि नारायणगोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ। रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा महानगरपालिका–१४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, कास्कीमा स्टेसनरी सामग्री वितरण गरेको थियो।
यस्तै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारंगी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोसाक सहयोगलगायतका कार्यक्रम गरिसकेको छ। ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमको मुख्य प्रवर्द्धक पोखरा महानगरपालिका–९ कार्यालय रहेको थियो।–रासस