काठमाडौं। मिथिला चित्रकलालाई प्रवर्द्धन गर्ने उद्देश्यले मिथिला चित्रकलाको प्रयोगात्मक तालिम दिइने भएको छ। मिथिला थाली बाई सेफ सन्तोष शाह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौंमा चार दिने चित्रकला तालिम दिइने भएको हो।
मिथिला कलामा रुचि राख्ने महिला तथा बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको यस तालिममा मिथिला पेन्टिङका आधारभूत सीप, डिजाइन, चित्रमा रंगहरुको संयोजनका बारेमा दक्ष प्रशिक्षकद्वारा सिकाइने छ।
प्रशिक्षण माघ १४, १५ र १६ गते सेफ सन्तोष शाहको मिथिला थालीमा सञ्चालन हुनेछ। पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सिखेलका विभिन्न आउटलेटमा तालिम दिइने छ। तालिम दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
तीन दिने लगातार तालिमपछि १० दिनको अन्तरालमा नक्साल स्थित मिथिला थालीको आउटलेटमा अन्तिम प्रतिस्पर्धा गराइने छ। प्रतिस्पर्धामा विजयी हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ।
तालिममा सहभागी हुनको लागि मिथिला थाली अथवा रोटरी न्यातपोलको आधिकारी फेसबुक पेजमा राखिएको क्यूआर स्क्यान गरी गुगल फर्ममा आवश्यक विवरण भर्नुपर्ने हुन्छ। दर्ताको विषयमा अन्योल भएमा ९८६२३००८८९ मा सम्पर्क गरेमा सहजीकरण गरिने आयोजकले जनाएको छ।
उक्त फर्म भरिसकेपछि आयोजकले तालिममा सहभागी हुनसक्ने व्यक्ति छनोट गर्ने छ। तालिमका लागि छानोट भएमा आयोजक टोलीले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्ने छ। त्यसपछि छनोट भएकासँग प्रतिव्यक्ति पाँच सय रुपैयाँको दरले दर्ता शुल्क लिइने छ।
जम्मा भएको दर्ता शुल्क सामाजिक काममा खर्च गरिने सेफ सन्तोष शाहले बताएका छन्। शुल्क बुझाएपछि मात्र तालिममा सहभागी हुन पाइने छ। सहभागीहरुलाई तालिममा आवश्यक पर्ने रङ, ब्रस, बोर्ड र खाजाको व्यवस्था आयोजक गर्ने छ। तर आवासको व्यवस्था सहभागी आफैले गर्नुपर्ने छ।
मिथिला चित्रकलालाई जनकपुरमा मात्र सिमित नराखि देश विदेशमा पनि चिनाउने र प्रवर्द्धन गर्ने उदेश्यले यस्तो तालिमको व्यवस्था गरिएको सेफ सन्तोष शाहले बताएका छन्। सेफ शाहले मिथिला चित्रकलाको महत्व र यसको इतिहास सबैले जान्न जरुरी रहेको बताउँदै यसलाई व्यवसायीक रुपमा पनि अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन्। महिलाहरुलाई यस्तो सिप सिकाएर आत्मनिर्भर बनाउनु पनि यसको उदेश्य रहेको उनले बताए।
‘धर्म, संस्कृति र परम्परालाई जोगाउन आवश्यक छ। यसलाई प्रवर्द्धन गर्न पनि आवश्यक छ। अब आउने नयाँ पुस्तालाई पनि मिथिला संस्कृतिको बारेमा सिकाउन आवश्यक छ। त्यसैको लागि यस्तो प्रशिक्षण गराउनु पर्छ,’ सेफ शाहले बताए।
सुडी महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पूर्वेले पनि अहिलेको समयमा महिलालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको कुरा बताएकी छन्। ‘महिलाहरु यत्तिकै घरमा बस्नुभन्दा यस्तो तालिममा सहभागी भइ सीप सिक्न सक्छन् र आम्दानी पनि गर्न सक्न्। पहिला हामीले नै सीप सिकाएका महिलाले अहिले आफैँ काम गरेर पैसा कमाइरहेका छन्,’ उनले बताइन्।
तालिममार्फत सहभागीहरूले परम्परागत मिथिला चित्रकलाको ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने अवसर पाउने अपेक्षा गरिएको छ।