काठमाडौं। ठूला उद्योगी व्यवसायीलाई सरकारले सम्पत्ति शुद्धीकरण मुद्धा लगाएसँगै सेयर लगानीकर्ता आत्तिन थालेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ। यो गिरावटका कारण एकै दिन बजारको १ खर्ब ७९ अर्ब रुपैयाँ सम्पत्ति घटेको छ।
आइतबार दिनभर ३४५ वटा कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २६१ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा जम्मा ७ वटा कम्पनीको मूल्य मात्र बढेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन।
भारी गिरावटको बीचमा पनि केही साना कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्योदय हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, भुगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी शिवम् सिमेन्टको ४५.१७ करोड, ङादी ग्रुप पावरको ४२.०३ करोड र नेशनल हाइड्रोपावरको ३६.७० करोड क्रमशः सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।